खबर

रेस्टुराँकाे ३० अर्ब लगानी जोखिममा

श्रावण २८, २०७७ बुधबार
काठमाडौँ । कोरोना भाइरस महामारीबाट आर्थिक रूपमा सबैभन्दा बढी प्रभावितमध्ये पर्यटन क्षेत्र पनि एक हो। त्यसमा सेवामूलक व्यवसाय रेस्टुराँ तथा होटेल अग्रपंक्तिमा छन्। अत्यधिक भीडभाड हुने यो क्षेत्र कोभिड—१९ को प्रकोप फैलिएसँगै पूर्णरूपमा प्रभावित छ।

लकडाउन हटे पनि विभिन्न कठिनाइका कारण राम्ररी सञ्चालन हुन सकेको छैन। केही व्यवसायीले व्यवसाय खोल्ने जाँगर देखाए पनि ग्राहकको अभाव छ। त्यसले गर्दा सञ्चालन खर्च मात्रै बढेको व्यवसायीको बुझाइ छ।

झम्सिखेलमा भिठो थकाली रेस्टुराँ सञ्चालन गर्दै आएका विप्लव भट्टलाई घरभाडा, कामदारको तलब, बैंकको ऋण कसरी व्यवस्थापन गर्ने भनेर चिन्ता छ। त्यसमाथि प्रत्येक दुई वर्षमा घरबहाल वृद्धि गर्ने सम्झौता छ। यो वर्ष घरबहाल वृद्धि गर्ने वर्ष परेको छ।

‘लकडाउनका कारण पहिलेकै भाडा तिर्न धौधौ छ’, उनले भने, ‘यस्तो अवस्थामा सम्झौताअनुसार घरभाडा वृद्धि गरेर तिर्न सक्ने अवस्था छैन।’

ठमेलमा थर्ड आईसहित यिङयाङ थाई रेस्टुरेन्ट, धापासीमा क्याफे त्रिनेत्र र बेकरी नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएका तेजेन्द्रलाल श्रेष्ठ पनि तनावमा छन्। ‘लकडाउन हटेपछि जेनतेन गरी व्यवसायलाई निरन्तरता दिएँ। तर, ग्राहककै चर्को अभाव छ’, श्रेष्ठले भने, ‘दैनिक सञ्चालन गर्दा कामदार राख्नै पर्‍यो। भान्छा चलाउनै पर्‍यो, भान्छाका सामग्री जोहो गर्दा अपरेसन खर्च मात्रै बढेको छ।’

उनले कोभिडका कारण पछिल्लो ४–५ महिनामा १ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरेको दाबी गरे। श्रेष्ठलाई पनि कर्मचारीको तलब, घरबहाल र बैंककै ऋणको समस्या छ।

दरबारमार्ग क्षेत्रका ब्रान्डेड र अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्ट पनि सुनसान छन्। उद्धव ढकालको ओपीएम रेस्टुरेन्ट पनि ग्राहकको अभावमा रित्तिएको छ। साझेदारी अवधारणमा ५ वर्षअघि शेर्पा मलमा ४० कर्मचारी राखेर सुरु भएको उक्त रेस्टुराँ कोभिडको महामारीबाट थला पर्‍यो। सुनिता कार्कीले अन्नपूर्ण पाेस्ट दैनिकमा  लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button