खबर

पेट्रोलमा बढाएको मुल्यवृद्बि तत्काल फिर्ता लिन अखिल क्रान्तिकारीको माग

काठमाडौँ : नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनको हवाला दिँदै पेट्रोलको मुल्य बढाएपछि अखिल (क्रान्तिकारी)ले आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ।
क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले बुधबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मुल्य बढाउने निर्णयप्रति आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् ।
क्रान्तिकारीका अध्यक्ष ढकालले विज्ञप्तिमा भनेका छन् – ‘विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना संक्रमण र त्यसपछि निर्विकल्परुपमा ओलि सरकारद्वारा लादिएको निरन्तर बन्दाबन्दी र निषेधाज्ञाले जनताको दैनिक जिवन धान्न समेत ज्यादै कठिन रहेको समयमा गरिएको मुल्य वृद्धिको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौँ । आफ्ना जनताको कमजोर अवस्थाको हेक्का नै नराखी केवल भारतियहरुले पठाएको पत्र देखाउँदै मुल्य वृद्धि गर्नुले भ्रष्टाचारमा चुर्लुम्म डुबेको ओलि सरकार एउटा नैतिकहिन व्यापारीको स्तरमा गिर्न पुगेको कुरा छर्लङ्ग भएको छ।’
साथै क्रान्तिकारीका अध्यक्ष ढकालले सरकारले गरेको मुल्य वृद्धिको निर्णय तत्काल फिर्ता लिन ओलि सरकारलाई चेतावनी दिएका छन् । साथै उनले जनताको विरुद्ध अनेकौं षड्यन्त्रमा तल्लिन रहेको भ्रष्ट, नैतिकहिन र जनमारा दलाल संसदीय शासन व्यवस्था अन्त्यको लागि संघर्ष गर्न सम्पूर्ण युवा बिद्यार्थीहरुमा अपिल गरेका छन् ।
सरकारी उदासिनताकै कारण हाल देशैभरी रगत अभाव हुन पुगेको भन्दै उनले आफ्नो संगठनका नेताकार्यकर्ताहरुलाई सुरक्षित तवरले रक्तदान गर्न निद्रेशन समेत दिएका छन् । अध्यक्ष ढकालले भनेको छन् –‘कोभिड(१९ को महामारी र सरकारी उदासिनताका कारण हाल देशव्यापीरुपमा अस्पतालहरुमा देखिएको रगत अभावलाई पुर्ति गर्न हाम्रो संगठनका केन्दीय समिति, क्षेत्रिय समन्वय समिति, जिल्ला समिति र ईकाइ समितिका कमरेडहरुलाई स्वास्थ्य परिक्षण गराई सुरक्षित तवरले रक्त दान गर्न र सो सम्बन्धमा अन्य युवा बिद्यार्थीहरुलाई समेत अभियानात्मक रुपमा सहभागी गराई रगत अभावमा जिवन जोखिममा रहेका जनताको जिवन रक्षाको कार्यमा जुट्न विशेष निर्देशन गर्दछौँ ।’ नेपाल आयल निगमले मंगलबारदेखी पेट्रोलमा २ रुपैया बढाएको छ ।

२०७७, १७ भाद्र ,ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button