
आइतवार, अशोज ११, २०७७
एजेन्सी – सेन्ट इटिएनमाथि सहज जित निकाल्दै रेनिस फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेन्ट इटिएनमाथि ३–० को सहज जित निकाल्दै अपराजित रहेको रेनिस शीर्षस्थानमा उक्लिएको हो ।
सेन्ट इटिएनको मैदानमा भएको रेनिसको जितमा नाइफ अगुर्ड, सेहेरोउ गिरासाई र एड्रिएन हुनोउले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । रेनिसले खेलको ३३औं मिनेटमा नाइफ अगुर्डले गोलबाट अग्रता लिएको थियो । उनले बेन्जामिनको पासलाई सदुपयोग गरेका थिए ।
४७औं मिनेटमा घरेलु टोलीका अरनाउड नोर्डिनले गोल गरेपनि उनी अफसाइड ठहरिए । ५३औं मिनेटमा सेहेरोउ गिरासाईले गोल गर्दै रेनिसको अग्रता दोब्बर पारे । सेहेराृले रोमेन डि क्यास्टिलोको पासलाई गोलमा परिणत गरेका थिए । ८९औं मिनेटमा एड्रिएन हुनोउले राफिन्हाको पासमा गोल गर्दै रेनिसलाई ३–० को सहज जित दिलाए ।
अपराजित रहेको रेनिसको ५ खेलबाट १३ अंक पुगेको छ । समान खेलबाटै लिलको ११ अंक रहेको छ । पराजित सेन्ट इटिएन १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै अर्काे खेलमा मार्से र मेट्जले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । मेट्जका इब्राहिमा नियनीले गोल गर्दा मार्सेका मोगर्न सान्सनले इन्ज्युरी समयमा गोल फर्काउदै हार टारेका थिए । मार्से ५ खेलबाट ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । मेट्ज ४ अंकसहित १६औं स्थानमा रहेको छ ।
लिगको साविक विजेता पीएसजी भने आठौँ स्थानमा छ । सुरुवाती दुई खेल हार्दै खराब सुरुवात गरेको पीएसजीले त्यसपछि लगातार दुई खेल जितेको थियो । टोलीले आइतबार राइम्सको सामना गर्दैछ ।hamrokhelkud/from



