
११ असोज २०७७
ललितपुर । नेपालमा आज एक हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा एक हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् । आजसम्म देशभर ६ हजार २८१ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ८८ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार देशभर ३३ कोरोना संक्रमितको भेन्टिलेटरमा र २२५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८८५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३।४ प्रतिशत रहेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणाट थप १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।



