
३० असोज २०७७
मेचीनगर । झापाको बिर्तामोड नगरपालिकाको कार्यालय कार्तिक २ गतेदेखि कात्तिक ६ गतेसम्म बन्द हुने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएको कारण बिर्तामोड नगरपालिकाले कार्यालयबाट प्रदान गरिदैँ आएका सेवाहरु बन्द गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।
बिर्तामोड ‘नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका काम बन्द गरिने निर्णय भएको प्रमुख शिवाकोटीले बताएकाछन्। प्रमुख शिवाकोटीका अनुसार अत्यावश्यक ‘एम्बुलेन्स, दमकल जस्ता सेवा भने चालु रहने छन् । त्यस्तै, बिद्युत महसुल, खानेपानी महसुल, टेलिफोन महसुल लगायतका सेवाहरु भने पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाद्धारा विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि बिर्तामोड बजार भने खुल्ला रहने छ । किनमेलको क्रममा सुरक्षित र व्यवस्थित तरिकाले भौतिक दूरी कायम गरी सेवा प्रदान गर्नुपर्ने नगरको निर्णय छ । दशैं लगायतका चाडपर्व मनाउने क्रममा भिडभाड हुनसक्ने भएकोले भिडभाड नहुने गरी आ–आप्mनो परिवार भित्र नै मनाउन र चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रमजस्ता भिडभाड हुने कार्य नगर्न तथा नगराउन नगरपालिकाको आग्रह छ ।

नगरपालिका क्षेत्र भित्र रहेका मठ मन्दिर, पिठमा हुने धार्मिक तथा सांस्कृतिक पूजा, मेला, जात्रामा हुने आम भेला र सहभागितालाई कम गर्ने, गर्नैपर्ने पूजा विधि न्यून भक्तनजको उपस्थितिमा मात्र गर्न तथा सबैप्रकारका मेला, जात्रा तथा पर्वका कार्यक्रमहरु नगर्ने निर्णय नगरको रहेको छ । टीका लगाउने, आर्शिवाद लिने धार्मिक एवम् सांस्कृतिक प्रचलनलाई आफ्नै घर भित्र मात्र सिमित राख्नु पर्ने जनाइएको छ । टीकाग्रहण गर्दा जेष्ठ नागरिक, बिरामी र बालबालिकालाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड कायम गर्न सम्बन्धित परिवारलाई आग्रह गरेको छ । नगरपालिका क्षेत्रभित्र हुने सबै प्रकारका तालिम गोष्ठी, सम्मेलनलगायत कार्य नर्गन राजनीतिक दल, संघ संस्थाहरुले गर्ने बैठक भेला र शुभकामना आदानप्रदान कार्यक्रम समेत नगर्ने निर्णय समेत गरेको छ ।



