५ मंसिर २०७७
एजेन्सी ।
भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ४६ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ४ हजार ३२५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८४ लाख २७ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५८४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २०२ पुगेको छ ।
भारतको महाराष्ट्र प्रदेश सबभन्दा बढी आक्रान्त बनेको छ। त्यस्तै तीन दक्षिणी राज्यहरू आन्ध्र प्रदेश, तामिलनाडु र कर्नाटक प्रदेश बढी आक्रान्त बनेका छन्।
भारतको जाँच अनुपात संसारमा सबैभन्दा कम मध्येमा पर्छ । यसको अर्थ भारतको अवस्था अहिलेको भन्दा भयावह हुनसक्छ र भारतले संक्रमित र मृत्यु हुने दुवै संख्यामा अमेरिकालाई पनि पछि पार्न सक्ने अनुमान छ ।



