स्वास्थ्य

के हो शरीर चिसिने समस्या? कसरी बच्ने?

शरीर चिस्सिनु वा हाइपोथर्मिया एउटा खतरनाक मेडिकल समस्या हो। जसमा हाम्रो शरीरको भित्री तापक्रम घट्छ र शरीरका अंगहरुले विस्तारै काम गर्न छाड्छ।

हाम्रो शरीरको तापक्रम ३७ डिग्री सेल्सियस वा ९८ डिग्री फरेनहाइटको वरिपरि हुन्छ। शरीरको तापक्रम ३५ डिग्री सेल्सियस ९५ फरेनहाइटभन्दा कम भयो भने त्यस्तो अवस्थालाई शरीर चिस्सिनु भनिन्छ। शरीरले निकाल्ने तापको तुलनामा शरीरबाट बाहिर जाने ताप धेरै भयो भने हाइपोथर्मिया हुन्छ।

शरीर चिसियो भने त्यसको असर मुटु, फोक्सो, नसा जस्ता महत्वपूर्ण अंगहरुमा पर्छ। समयमै यसको उपचार गरिएन भने मुटु र श्वासप्रश्वास प्रणालीले काम गर्न सक्दैन र मानिसको मृत्यु हुनसक्छ।

शरीर चिसिने समस्या खासगरी जाडो मौसममा देखा पर्छ। चिसो हावा र चिसो वातावरणले शरीरको तापक्रम घटाउँछ। कहिलेकाहीँ खासगरी बच्चा र मादक पदार्थले लठ्ठिएका मानिसहरु, चिसो जमिन वा पानी जस्तै खोलाको तीरमा परेमा पनि शरीरको तापक्रम अत्यधिक रुपमा घट्छ। यस्तो अवस्थामा हाम्रो शरीरले बढीभन्दा बढी ताप उत्पादन गर्न सुरु गर्छ। शरीरबाट ताप घट्ने प्रक्रियालाई कम गर्न मांसपेसीहरुमा कम्पन उत्पन्न हुन्छ र छालामुनि रहेका रक्त नलीहरु साघुँरिन थाल्छन्। यस्ता प्रक्रियाबाट शरीर आफैंले तापक्रम बचाइराख्न मद्दत पुर्‍याउँछ र ज्यान जोगिन सक्छ। तर शरीरले यो प्रक्रियाबाट तापक्रम बचाइराख्न सकेन भने हाइपोथरमिया हुन्छ।

शरीरबाट ताप कसरी बाहिर जान्छ
१. राम्रोसँग बाक्ला कपडा नलगाएमा शरीरबाट ताप बाहिर जान्छ।्र
२. यदि शरीर धेरै चिसो वस्तु जस्तैः पानी, हिउ, वरफ, चिसो जमिन आदिको सम्पर्कमा आए तापलाई बाहिर लैजान्छ र शरीर चिसिन पुग्छ।
३. चिसो हावाले छालाको नजिकै रहेका तातो हावालाई तुरुन्तै विस्थापित गर्छ। जसले गर्दा शरीरलाई द्रुत गतिमा चिसो बनाउँछ।

शरीरले ताप कसरी उत्पादन गर्छ र ताप बाहिर जानबाट कसरी जोगिन्छ?
१ शरीरभित्र रहेका अंगहरु विशेषगरी कलेजोले ताप उत्पादन गर्छ। तापलाई रगतको माध्यमबाट शरीरको सबै अंगमा लैजान्छ।
२. शरीर चिसिन थाल्यो भने मांसपेसीहरुको कम्पन उत्पन्न हुन्छ, जसले ताप उत्पादन गर्छ।
३. छालामुनि रहेका रक्त नलीहरु साघुँरा हुन थाल्छन्, जसले गर्दा ताप बाहिर जानबाट जोगिन्छ।

शरीर चिसिनुका कारण
– चिसो मौसममा पातलो कपडाहरु लगाउनाले
– चिसो मौसममा घर बाहिर लामो समयसम्म बस्नाले
– चिसो र भिजेका कपडा लगाइरहनाले
– चिसो पानीमा लामो समयसम्म रहनाले
– निकै चिसो घर भएमा। जस्तैः स–साना छाप्राहरु जसमा झ्याल ढोका राम्रोसँग राखिएको हँुदैन। घरभित्र चिसो हावा सजिलै पस्न सक्छ र शरीरलाई चिसो बनाउँछ।

शरीर चिसिन सक्ने जोखिम अवस्था
१. वृद्धवृद्धाः उनीहरुमा शरीरको तापक्रम नियमित गर्ने शारीरिक प्रणाली कमजोर हुने हुनाले शरीर चिसिने समस्याको उच्च जोखिममा रहेका हुन्छन्।
२. साना बालबालिकाः बालबालिकाहरु पनि शरीर चिसिने समस्याको उच्च जोखिममा हुन्छन्। उनीहरुमा ठूला मानिसको तुलानामा शरीर छिटो चिसिन्छ। उनीहरुले राम्रोसँग न्यानो कपडा लगाउँदैनन्।
३. मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिः मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु पनि यसको जोखिमम पर्छन्। उनीहरुले राम्रोसँग कपडा नलगाउने र चिसोको बारेमा राम्रोसँग बुझ्दैनन्।
४. नशालु पदार्थको लत लागेका व्यक्तिहरुः मादक तथा नसालु पदार्थले शरीरलाई तातो बनाउने भ्रम धेरैको छ। तर मादक तथा नशालु पदार्थले शरीरलाई तातो बनाउनुको साटो झनै तापक्रम घटाउँछ।

लक्षण
– लडखडाउने
– बोली लर्बरिने
– झर्किने
– शरीर निलो हुने र सुन्निने
– श्वास प्रश्वासको गति कम हुने
– नाडी अनियमित र कमजोरी हुने
– धेरै पिसाब लाग्ने
– बिर्सिर्ने, होस हराउँदै जाने र बेहोस हुने।

शरीर चिसिने समस्याबाट कसरी जोगिने?
१. शरीरलाई न्यानो राख्ने।
– राम्रोसँग बाक्लो, न्यानो कपडा लगाउने, हावा नछिर्ने खालको ज्याकेट लगाउने हात, खुट्टामा पञ्जा र मोजा लगाउने, टोपी लगाउने।
– जाडो मौसममा घर बाहिर धेरै व्यायाम नगर्ने। धेरै व्यायाम गर्दा शरीरबाट छिटो तापक्रम बाहिर जान्छ।

२. बालबालिकालाई चिसोबाट सुरक्षित राख्ने।
– बालबालिकालाई ठूलो मानिसभन्दा कम्तीमा एउटा कपडा बढी लगाइदिने।
– बच्चाहरु घरबाहिर खेल्दा काँपिरहेका छन् भने उनीहरुलाई तुरुन्त घरभित्र लैजाने।
– बच्चालाई चिसो कोठामा नसुताउने।

३. चिसो मौसममा सुरक्षा सावधानी अपनाउने।
– चिसो मौसममा खासगरी चिसो ठाउँहरुमा यात्रा गर्दा न्यानो कपडा लगाउने, तातो झोलिलो पदार्थ खाइरहने, यात्रा गर्दा आफूहरु जाने ठाउँबारे आफन्त वा साथीभाइलाई जानकारी दिने।

शरीर चिसिनुको सामान्य उपचार
१. मानिसलाई चिसो ठाउँबाट जतिसक्दो चाँडो न्यानो ठाउँमा सार्ने
२. चिसो, भिजेका कपडा छन् भने निकालिदिने र न्यानो सिरक र कम्बलले शरीरलाई न्यानो पार्ने
३. तातो झोल पदार्थ जस्तैः तातो दूध वा पानी खान दिने
४. बेहोस अवस्थामा छ भने तत्काल अस्पताल लैजाने

चिकित्सकीय उपचार
१. विस्तारै शरीर तातो बनाउने जस्तैः शरीरलाई बाक्लो, न्यानो कपडाले छोप्ने, तातो झोल मुखबाट वा अन्य तरल पदार्थ नशाबाट दिने।
२. सक्रिय रुपमा शरीर तातो बनाउने जस्तैः बिरामीको शरीरलाई तातो पानीमा राख्ने, तातो प्याडहरु वा तातो पानीको बोतल जिउ वा हात खुट्टामा राखिदिने आदि।

नेपालको उत्तरी हिमाली क्षेत्रमा चिसो मौसममा तापक्रम निकै घट्छ। ती क्षेत्रमा हिउ पर्छ र जनजीवन कष्टकर हुन्छ्र तर पनि ती भेगमा चिसोको करणले मानिसको मुत्यु भएको खबर कमै मात्र सुनिन्छ। तर नेपालको तराई भेगमा चिसो मौसममा मानिसहरु खासगरी वृद्धवृद्धाहरूको मृत्यु भएको खबर बर्सेनी सुनिन्छ।

यसको खास कारण के हो भने उत्तरी हिमाली भेगमा बस्ने मानिसहरु चिसो मौसम अनुकुलका न्याना कपडा लगाउँछन्। घरहरु पनि न्यानो प्रकारका हुन्छन्। तातो झोल खानेकुरा पिउँछन्। तर तराई क्षेत्रका विशेषगरी न्यून आय भएका मानिसले न्यानो र बाक्लो कपडा लगाएका हुँदैनन्। घर पनि खुला, चिसो हावा छिर्ने किसिमका हुन्छन्। त्यसैले त्यहाँका मानिसमा चिसो लाग्ने समस्या बढी देखिन्छ।

यो समस्याबाट बचाउन सरकार र नागरिक समाज सबैले मिलेर चिसोबाट बच्ने तरिकाहरु सिकाउन आवश्यक छ। चिसोबाट बच्न न्यानो कपडा वितरण गर्ने, घरहरु न्यानो राख्न सघाउने, वृद्धवृद्धालाई तातोपानी पिउने व्यवस्था गर्ने, आगो ताप्न हिटर वा काठ–दाउराको व्यवस्था गर्ने गर्नुपर्छ। यी सबै गर्न सकेमा मात्र चिसोका कारण हुने हाइपोथरमियाका कारणले हुने मृत्युको दरमा कमी ल्याउन सकिन्छ।

(डा मल्हाेत्रा त्रिभुवन विश्वविद्यालय काठमाडौं महाराजगञ्ज मेडिकल क्याम्पसको क्लिनिकल फिजियोलोजी विभागका सहप्राध्यापक हुन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button