खबरहेड लाइन

पच्चिस अर्बले बढ्यो राजस्व

चालु आवको भदौसम्म एक खर्ब ८३ अर्ब २० करोड रुपियाँ राजस्व सङ्कलन, गत आवको सोही महिनाको तुलनामा २५ अर्ब ५३ करोड २७ लाख रुपियाँले बढी
भदौसम्म सरकारी खर्च एक खर्ब ९९ अर्ब ८३ करोड रुपियाँ, गत आवको सोही अवधिको तुलनामा करिब २० अर्ब रुपियाँले बढी

काठमाडौँ, असोज २ गते । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन–भदौ) मा २५ अर्ब रुपियाँभन्दा बढीले सरकारको राजस्व बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको भदौसम्म एक खर्ब ८३ अर्ब २० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ जुन गत आवको सोही महिनाको तुलनामा २५ अर्ब ५३ करोड २७ लाख रुपियाँले बढी हो ।

गत आवको भदौसम्म एक खर्ब ५७ अर्ब ६७ करोड ३९ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालु वर्षको भदौसम्म सङ्कलित राजस्वमध्ये एक खर्ब ७२ अर्ब ४२ करोड रुपियाँ कर राजस्व र १० अर्ब ७७ करोड रुपियाँ गैरकर राजस्व रहेको कार्यालयले जनाएको छ ।

यसबाहेक सरकारले अनुदान र अन्य प्राप्तिमार्फत पनि आम्दानी गरेको छ । कार्यालयका अनुसार समीक्षा अवधिसम्म सरकारले पाँच अर्ब ५३ करोड सात लाख रुपियाँ अनुदान प्राप्त गरेको छ । यसबाहेक एक अर्ब ३७ करोड रुपियाँ अन्य प्राप्ति रहेको छ । राजस्व, अनुदान र अन्य प्राप्तिसहित भदौसम्म सरकारले एक खर्ब ९० अर्ब १० करोड रुपियाँ आम्दानी गरेको छ जुन गत आवको भदौसम्मको तुलनामा ३० अर्ब रुपियाँले बढी हो ।

खर्च पनि उल्लेख्य बढ्यो

दुई महिनामा सरकारको खर्च पनि गत वर्षको तुलनामा उल्लेख्य बढेको छ । कार्यालयका अनुसार भदौसम्म सरकारले एक खर्ब ९९ अर्ब ८३ करोड रुपियाँ खर्च गरेको छ जुन गत आवको सोही अवधिको तुलनामा करिब २० अर्ब रुपियाँले बढी हो । गत वर्ष भदौसम्म सरकारले एक खर्ब ८० अर्ब ८१ करोड रुपियाँ खर्च गरेको थियो ।

कुल खर्चमध्ये चालु प्रकृतिको खर्च मात्रै एक खर्ब २२ अर्ब रुपियाँ रहेको छ । त्यस्तै पुँजीगततर्फ सात अर्ब ६६ करोड ४८ लाख रुपियाँ खर्च भएको कार्यालयको विवरण छ । ऋण भुक्तानीका लागि प्रयोग हुने वित्तीय व्यवस्थातर्फको खर्च भने ७० अर्ब १३ करोड रुपियाँ पुगेको छ जुन गत आवको भदौसम्म करिब ६० अर्ब रुपियाँ थियो ।

विकासनिर्माणका कामलाई गरिने पुँजीगततर्फको खर्चभन्दा सरकारले लिएको ऋण तिर्नलाई हुने खर्च पछिल्ला वर्षमा बढ्दै गएको देखिन्छ ।

त्यसो त भदौसम्म पनि सरकारको खर्चमा नौ अर्ब ७० करोड रुपियाँ अपुग देखिन्छ । यस्तो अपुग खर्चका लागि सरकारले ऋण लिएको स्रोत व्यवस्थापन गर्छ । सरकारले चालु वर्ष पहिलो महिना अर्थात् साउनमै आन्तरिक ऋण उठाएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button