खबर

माओवादीका थप दुई सांसद कारबाहीमा, के हुन्छ अबको प्रक्रिया ?

काठमाडौं ,चैत २८, २०७७
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी परित्याग गरेर नेकपा (एमाले) को सदस्यता प्राप्त गरेको भन्दै राष्ट्रिय सभाका दुई सदस्यलाई कारबाहीसहित दल त्यागको जानकारी सङ्घीय संसद्लाई दिएको छ।
पार्टीले दल त्यागको जानकारीसहितको सूचना शुक्रबार सङ्घीय संसद्का महासचिवसमक्ष दिएको हो। उक्त सूचना राष्ट्रिय सभामा पठाइएको छ। सदस्यद्वय रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई कारबाही गरी दल त्यागको जानकारी पठाइएको हो। थापा गृहमन्त्री छन् । माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले शुक्रबार गृहमन्त्री थापा आफ्नो दलमा नरहेको पत्र सङ्घीय संसद् सचिवालयलाई बुझाए ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विदेश रहेका कारण स्थान रिक्तको सूचना प्रकाशन प्रक्रिया भने वैशाख १ गतेपछि मात्र अगाडि बढ्नेछ।

सूचना दर्ता भएसँगै अब राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानअनुसार उक्त सूचना सचिवालयले राष्ट्रिय सभा अध्यक्षसमक्ष पेस गर्नेछ। अध्यक्षले उक्त सूचना बढीमा १५ दिनभित्र सदनमा जानकारीका लागि पेस गर्नुपर्ने छ। हाल राष्ट्रिय सभाको अधिवेशन चालू नरहेकाले उक्त सूचना सचिवालयको सूचना पाटीमा टाँस गरिनेछ। राष्ट्रिय सभा अध्यक्ष हाल स्पेन भ्रमणका क्रममा रहेकाले उक्त प्रक्रिया वैशाख १ गतेपछि मात्र सुरु हुनेछ। सूचना प्रकाशन भएसँगै सांसदको स्थान रिक्त हुनेछ। स्थान रिक्त भएको अवस्थाको जानकारी संसद्ले निर्वाचन आयोगलाई बढीमा १५ दिनभित्र दिनुपर्ने छ। निर्वाचन आयोगले छ महिनाभन्दा बढी कार्यकाल रहेको अवस्थामा रिक्त स्थानमा उपनिर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ। थापाको राष्ट्रिय सभाको कार्यकाल ६ वर्ष र खड्काको कार्यकाल चार वर्षको छ। माओवादी केन्द्रले ४ निर्वाचित सांसदलाई पनि हटाइसकेको छ । गोरखापत्रमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button