कला

‘दोख’ गीत : भ्यूज अभाव तर तारिफको वर्षा

फिल्मीखबर, काठमाडौं, 2021/05/03
पछिल्लो समय गीतको सफलताको मानक यूट्युबको भ्युज वा ट्रेन्डिङ बनेको छ । तर, युट्युबको भ्युज वा ट्रेन्डिङले मात्र गीतको सफलता मापन गर्छ त ? यसमा दुईथरी विचार आउने गरेको छ । कसैले लाखौं भ्यूजसहित यूट्युबको ट्रेन्डिङ उक्लिएका गीतलाई सफलताको पगरी भिराउने गरेका छन् भने कोही यूट्युबमा चल्दैमा गीतलाई सफल वा उत्कृष्ट मान्न नसकिने तर्क राख्छन् ।

नेपाली फिल्म क्षेत्रमा भने गीतले यूट्युबमा पाएको भ्यूज र ट्रेन्डिङ आयूका आधारमा सफलता मापन गर्ने ट्रेन्ड चलेको छ । गीत यूट्युब चले सिनेमा हलमा फिल्मलाई दर्शक अभाव नहुने विश्वास व्याप्त छ । केही फिल्मको हकमा यो लागू भएको पनि छ । तर, केही फिल्म भने गीत सुपरहिट हुँदा पनि बक्सअफिसमा चलेका छैनन् । यद्यपि, फिल्ममा गीतको भूमिका भने महत्त्वपूर्ण हुन्छ ।

केही दिनयता फिल्म ‘दोख’ को गीत ‘रातैले बुन्छ’ चर्चामा छ । गीतको अडियो र भिडियोको फिल्मकर्मीसँगै दर्शकहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । श्रवण मुकारुङको शब्द, पुष्पा संगमको संगीत र झुमा लिम्बुको स्वरको प्रशंसामा यूट्युबको कमेन्ट बक्स भरिएको छ । तर, जुन हिसाबले गीतको तारिफ भइरहेको छ, त्यसअनुसार गीतले भ्यूज पाउन सकेको छैन ।

यूट्युब रिलिजको एक हप्तामा गीत हेर्नेको संख्या २९ हजार पुगेको छ, जुन अत्यन्त न्यून हो । तर, गीतले पाएको तारिफ हेर्ने हो भने यूट्युबमा लाखौं वा करोडौं भ्यूज पाएका अन्य गीतभन्दा सफल मान्न सकिन्छ । यूट्युबमा गीत हेरेर प्रतिक्रिया जनाउनेको संख्या न्यून नभए पनि सामाजिक सञ्जाल फेसबुकमा गीतको लिंक शेयर गरेर प्रशंसा गर्नेको संख्या दिन-प्रतिशत बढिरहेको छ ।

गीतमा समावेश दृश्यहरुले माओवादी द्वन्द्वलाई पृष्ठभूमीमा राखेर एक नारीको वेदना पोखेको छ । गीतका भावअनुसार खिपेका दृश्यले आनन्दित तुल्याउँछ । निर्देशक अनुप बरालले गीत र फिल्मका दृश्यको जुन हिसाबले तालमेल मिलाएका छन्, त्यो प्रशंसनीय छ । गीतले दर्शकमा फिल्मप्रति कौतुहलता सिर्जना गरेको छ । तर, फिल्म भने कहिले रिलिज हुन्छ टुंगो लागेको छैन ।

भोजपुरको सुन्तले र बाघखोर वरपर खिचिएको फिल्ममा दिया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दीप, सुरज मल्ल, देव न्यौपाने, अनोज पाण्डे, सजन थापा, कमल देवकोटा, किरण चाम्लिङ, केशव राई, दिवज राईलगायत कलाकारको मुख्य अभिनय रहेको छ । शैलेन्द्र डी कार्कीले छायांकन गरेको फिल्ममा राजन कठैतको कथा तथा पटकथा छ ।

गीत हेर्नुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button