मूल खबर

झापा कांग्रेसले भन्यो ‐ संसद् विघटन आपराधिक षडयन्त्र

८जेठ २०७८
चौतारी पोष्ट अनलाइन

मेचीनगर । प्रधानमन्त्री के पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा गरेको संसद विघटनको निर्णयको नेपाली कांग्रेस झापाले घोर निन्दा र भत्र्सना गरेको छ

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ‘संविधानको मर्म र भावना, नेपाली जनताको बलिदानीपूर्ण संघर्षको अवमूल्यन गर्दै जालझेलपूर्ण तरिकाले जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गर्नु मुलुकलाई जटिल र गम्भीर राजनैतिक दुर्घटनातर्फ धकेल्ने आपराधिक षडयन्त्र’ हो विज्ञप्तिमा छ ।

‘मैले बिश्वासको मत लिन सकिन, मसँग प्रतिनिधिसभाको बहुमत छैन भन्ने पुष्टि भैसक्यो, बजेट ल्याउन ढिला भएकोले नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न मैले संविधानको धारा ७६ को ५ अनुसारको सरकार गठनका लागि राष्ट्रपतिकोमा सिफारिस गरेको हुँ’ भनेका के।पी। ओलीले त्यसको केही घण्टापछि आफूसँग बहुमत छ भनेर दावी गर्नु राजनीतिकव पाखण्डीपन भएको थापाले जारी गरेको विज्ञप्तिमा छ ‘नेपाली जनताले चाहेको केपी र बिद्याले षडयन्त्रमा संविधान मिचेर चल्ने बिकृत गणतन्त्र होइन, थिएन ।

सभ्य लोकतान्त्रिक गणतन्त्रका जनताले गरेको त्याग र बलिदानलाई अपमान र अवमूल्यन गर्ने कुकर्मीहरुलाई नेपाली जनताले दण्डित गर्ने नै छन् ।’ बहुमत १४९सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दावी पेश गर्नुभएका पार्टी सभापति शेरबहादुर देउवा र उहाँको समर्थनमा राष्ट्रपति कार्यालयमा माअ‍ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरु स्वयम् उपस्थित हुदाँसमेत केपी ओलीको कीर्ते बखेडाको मतियार बनेर राष्ट्रपति भण्डारीले राष्ट्रघाती कुकर्म गरेको र यसले लोकतान्त्रिक गणतन्त्रलाई नै विकृत बनाएको सभापति थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समुन्नत लोकतान्त्रिक गणतन्त्रका जनताले गरेको त्याग र बलिदानलाई अपमान गर्नेलाई नेपाली जनताले दण्डित गर्ने विश्वास समेत विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीको गुटगत राजनीतिको सिकार बनेर राष्ट्रपतिले राष्ट्रिय अहितमा संविधानविरोधी कार्य गरेको ठहर गर्दै विज्ञप्तिमा प्रतिनिधिसभा पुनस्थापनाका लागि पुनः आन्दोलनमा जानुको विकल्प नरहेको समेत जनाइएको छ ।

चुनावी बहानामा निरंकुश अधिनाकवादी शासन ब्यवस्था लाद्ने प्रधानमन्त्री र राष्ट्रपतिका षडयन्त्रविरुद्ध लोकतन्त्रवादी जनसमुदाय र शक्तिहरुलाई एकजुट हुन पनि आह्वान गरिएको छ ।

‘संविधानलाई मिचेर सम्पूर्ण सत्ता आफ्नो हातमा लिने तत्कालीन राजा ज्ञानेन्द्र शाहका बिरुद्ध महान बलिदानी संर्घष गरेका नेपाली जनतालाई केपी र बिद्याले जिस्क्याउने गल्ती गरेका छन’ विज्ञप्तिमा भनिएको छ– ‘कोरोनाको महामारीमा बिरोध प्रर्दशनहरु हुन सक्दैनन् भनेर गरिएको यो षडयन्त्रलाई बैचारिक तहबाट भण्डाफोर गर्दै कोरोना प्रकोप न्यूनीकरणसँगै आन्दोलनको आधिबेहरी ल्याइनेछ ।’ विज्ञप्तिमा संविधान विरोधी गलत कार्यको डटेर प्रतिरोध गर्न पनि आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button