
लघुकथा
दलमान घरको एक्लो छोरो,बाउआमाले सानैदेखि आफ्नो हैसियत अनुसार भरसक छोरालाई सुखले नै हुर्काए । पठनपाठनमा निकै जोड गरेपनि मघ्यम खालको पढाइ खासै प्रगति गर्न सकेन । दिनदिनै बाउआमाको उमेर छिप्पिदै गयो , यता दलमान पनि हुर्केर जवान भैसक्यो । आफू सरहका साथीभाइ कोही बिहे गरेर त कोही बिहे नगरी बैदेशिक रोजगारीमा गएको देख्दा उसलाइ पनि जाउ कि लागेर कुरा उठाएको थियो तर बाउआमाले सम्झाउदै भनेका थिए ( बाबू तँ एक्लो छोरो , हाम्रो सम्पुर्ण आधार भनेको तँ नै होस फेरि दुख सुख खान लाउन पुगेकै छ , आफ्नै जग्गा जमिनमा परिश्रम गर्नु हामी अब दिनदिनै बृद्द र अशक्त हुने छौ , हाम्रो हेरचाह कस्ले गर्छ बरु बिहे चाहिँ गर्नुपर्छ ।
दलमानले सोच्यो ( बुबाआमाको कुरा ठिकै हो कति साथी बिदेश गएर दुख पाएको कुरा गर्छन , म एउटा छोरो नजानु पर्यो । केही समय पछि दलमानको बिहे भयो । दिनहरु बित्दै गए समय कोल्टे फेरियो श्रीमतिले बाउआमासङ्ग सङ्गै बसेर गरि खान नसक्ने कुरा गर्न थालिन् । हुँदाहुँदा छुट्टिएर बस्ने भए म घरमा आउछु नत्र भन्दै माइत गइन् । बाबुआमाले पनि कुरा बुझेर छोरालाई छुट्टिएर बस्न आग्रह गरे ।
एकमुस्ठ रहेको सम्पति दुई भागमा बिभाजन भयो । एउटा चुलो फुटेर दुई भए । श्रीमती खुसी हुँदै माइतबाट आइन् र उनले नयाँ चुलोमा निक्कै मेहनेत गरेर निकै मिठा खानेकुरा तयार पारिन् । उता दलमान छुट्टिएको थाहा पाएर छरछिमेकका केही मानिसहरु पनि आइरहेका थिए अनि दलमान उनिहरुका कुरा पनि सुन्दै थियो , बडो राम्रो भयो । यता श्रीमती पनि भन्दै थिइन् अब श्रीमानलाइ बिदेश पठाउछु म घरको सबै व्यवहार एक्लैले थामिहाल्छु अनि त सुखका दिन कसो नाआउलान ।
दलमानले यसो नियालेर हेर्यो यी छरछिमेकका केही मान्छेहरु गलत सल्लाह दिन्छन् यिनीहरुका कुरा बिचार गरेर मात्र मान्नु भनेर बुवाआमाले जजसलाइ इङ्गित गर्नुहुन्थ्यो , त्यहाँ उनिहरु नै थिए । खाना खाने बेला भयो श्रीमतीले खाना पस्केर हसिलो अनुहारमा दलमानको अगाडि राखिदिइन , उ खाना खान थाल्यो तर उस्को मन बुवाआमा अहिले के गर्दै हुनुहुन्छ होला भन्ने तिर गयो तर उ केही बोल्न सकेन । आमाले पस्केर दिने खाना पनि एकपल्ट सम्झियो ।


