खबरखेलकुद

माल्टामा ‘प्रथम अन्तर्राष्ट्रिय मुकुम्लुङ कप २०२६’ फुटबल प्रतियोगिता आयोजना हुँदै, तयारी तीव्र

झापा । किराँत याक्थुङ चुम्लुङ माल्टाको आयोजनामा पहिलो पटक युरोपस्तरीय अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता “मुकुम्लुङ कप २०२६” भव्य रूपमा आयोजना हुने भएको छ। सन् २०२५ मा स्थापित किराँत याक्थुङ चुम्लुङ र के.वाई.सी. (KYC) फुटबल क्लब माल्टाको संयुक्त अगुवाइमा यो ऐतिहासिक खेल महोत्सव हुन लागेको हो।

प्रवासमा रहेका नेपाली फुटबल पारखीहरूमाझ नयाँ ऊर्जा र खेलकुदको माहोल सिर्जना गर्ने उद्देश्यका साथ यो प्रतियोगिता ‘७-ए-साइड’ (7-A-Side) फर्म्याटमा खेलाइने आयोजकले जनाएको छ।

एकता, संस्कृति र भाइचाराको सन्देश
खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई मित्रता, एकता, अनुशासन, सहकार्य तथा अन्तर्राष्ट्रिय भाइचाराको सशक्त आधार पनि हो भन्ने सकारात्मक भावनालाई आत्मसात गर्दै यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। युरोपका विभिन्न देशहरूबाट आमन्त्रित टोलीहरूको सहभागिता रहने यस प्रतियोगिताले युरोपमा छरिएर रहेका नेपाली समुदाय, विशेषगरी किराँत याक्थुङ समुदायबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

यसका साथै, प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुदप्रति प्रेरित गर्ने र प्रवासमा नेपाली भाषा, कला, संस्कृति तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ।

विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने
प्रतियोगिताको खेल तालिका, मिति, स्थान तथा अन्य पुरस्कार सम्बन्धी सम्पूर्ण विस्तृत जानकारीहरू छिट्टै पत्रकार सम्मेलन तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ। थप जानकारी र नियमित अपडेटका लागि आयोजक समितिले सम्पूर्ण खेलप्रेमीहरूलाई आफूहरूसँग जोडिन आग्रह समेत गरेको छ।

सहयोग र सहभागिताका लागि अपिल
यस गौरवमय र ऐतिहासिक अभियानलाई सफल बनाउन किराँत याक्थुङ चुम्लुङ माल्टा परिवारले युरोपस्थित सम्पूर्ण खेलप्रेमी, समाजसेवी, व्यवसायी, शुभेच्छुक तथा विभिन्न संघ–संस्थाहरूलाई आर्थिक, भौतिक, नैतिक सहयोग, सहभागिता र ऐक्यबद्धताका लागि हार्दिक अनुरोध गरेको छ।

“आउनुहोस्, खेलकुदमार्फत एकता, सद्भाव र भाइचाराको सन्देश फैलाऔं। ‘मुकुम्लुङ कप २०२६’ लाई युरोपकै एक ऐतिहासिक, भव्य र स्मरणीय खेल महोत्सवका रूपमा सफल बनाऔं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button