स्वास्थ्य

अबको ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा

काठमाडौं, जेठ २८, २०७८
अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ। विकसित राष्ट्रहरूले तेस्रो लहरको जोखिममा खोप नलिएका १८ वर्षमुनिका बालबालिका पर्ने प्रक्षेपण गरिरहेकै बेला नेपालका स्वास्थ्य विज्ञको भने भिन्न धारणा छ।

‘हामी कहाँ विकसित राष्ट्रकै सूत्र लागु हुने स्थिति छैन, अमेरिका तथा युरोपमा खोप लगाउन बालबालिकामात्र बाँकी रहेकाले तेस्रो लहरको जोखिममा उनीहरूलाई राखेका हुन्। हामी कहाँ खोप नलिएका सबै जोखिममा पर्छन्’, राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने।

नेपालमा १८ वर्षमुनिका बालबालिका र खोप नलिएका कुनै पनि समूह जोखिममा हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुन बताउँछन्। उनका अनुसार नेपालमा सन् २०२१ भित्रै सबै उमेर समूहले खोप लगाइसक्ने सम्भावना नदेखिएकाले बालबालिकासमेत जोखिममा छन्। अहिले कोरोना संक्रमण भएकाको शरीरमा पनि तेस्रो लहरसम्ममा एन्टीबडी प्रभाव सकिने हुनाले जोखिम हुन्छ। ‘कोरोनाले कुनै उमेर समूहलाई लक्षित गरेको हुँदैन, खोप अर्को लहर सुरु हुनुअघि नै सबैले पाउँछन् कि पाउँदैनन् भन्ने कुरा मुख्य हो’, डा. पुनले भने।

खोप नलिएका युवा र बालबालिका दुवै जोखिममा पर्न सक्ने डा. पुनको अनुमान छ। भाइरस कुन रूपमा म्युटेन्ट भएर आउँछ भन्ने कुराले पनि जोखिम निर्धारण हुने उनको भनाइ छ। अहिले खोप लिएकामा पनि खोपले कति महिना काम गर्छ भन्ने कुराको अध्ययन भइनसकेको अवस्थामा कुनै उमेर समूहमात्र जोखिममा भन्ने निक्र्योल गर्न नसकिने पुनले बताए।नागरिक दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button