खबर

हेलम्बुका स्थानीयबासी भन्छन्, ‘माथि बसेर आफ्नो घर बगाउने पालो कुरेर बसिरहेका छौँ’

काठमाडौं,असार ४, २०७८
मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो ।

रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर बग्ने र खोला थुनिएर फुटेकोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले बताए ।

“माथिल्लो क्षेत्रमा पनि जोखिम कायमै देखिन्छ, रितेकतेकमाथि पनि स–साना पहिरो गएको जस्तो देखिन्छ तर मौसम नखुलेकोले प्रस्ट देख्न सकिएन,” मन्त्री तामाङले भने ।

बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चारवटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फार्म बगेका छन् ।

मङ्गलबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले कटान गरेको छ । नदीले कतिपय स्थानमा दायाँबायाँ पाँच सय मिटरमाथिसम्म कटान गरेको हेलम्बु–३ का सोम ज्योतिले बताए ।

“सडक बगाएको छ, बजारमा खोला बगिरहेको छ । तिम्बुदेखि चनौटेसम्मका दुई सयभन्दा बढी घर बगेका छन्,” उनले भने ।
हेलम्बु क्षेत्रका तीन सयभन्दा बढी स्थानीयवासी सुरक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गएका छन् । “तीन दिनदेखि कुखुराको खोर, पाहुना घर, बस्तुगोठ जे खाली छ, त्यहीँ बसिरहेका छौँ,” हेलम्बु–३ का गणेशकिरण ज्योतिले बताए । “माथि बसेर आफ्नो घर बगाएको हेर्ने पालो कुरेर बसिरहेका छौँ,” उनले भने । गोरखापत्र दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button