खबर

उपप्राध्यापक ताराकान्त झाको मोटरसाइकल दुर्घटनामा निधन

२४ असार २०७८
विर्तामोड । मोटरसाइकल दुर्घटनामा परी मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ताराकान्त झाको मृत्यु निधन भएको छ ।

झापाको भद्रपुर निवासी ५० वर्षीय झा मेची बहुमुखी क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक हुन् ।

भद्रपुर नगरपालिका–८ किरात कोलोनीको भित्री सडक खण्डमा बुधबार राति साढे ११ बजे भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे २ प २५२५ नम्बरको मोटरसाइकलले ना ३ ख ८५४२ नम्बरको सडकमा रोकी राखेको ट्रकलाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक झाले ट्रकमा सामान लोड गर्दै गरेका चालक बुद्धशान्ति गाउँपालिका १ होक्से निवासी ३५ वर्षीय कमल ढुङ्गेललाई समेत ठक्कर दिएका थिए ।

दुर्घटनामा परी मोटरसाइकल चालक झाको टाउकोमा गम्भीर चोट लागेको र ट्रक चालक ढुङ्गेललाई टाउको र खुट्टामा चोट लागेपछि दुवै जनालाई उपचारका लागि भद्रपुर स्थित ओम साई पाथीभरा हस्पिटल पठाइएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

ओमसाईमा उपचार सम्भव नभएपछि झालाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको थियो ।

उनको उपचारको क्रममा सोही अस्पतालमा बिहीबार बिहान साढे २ बजे मृत्यु भएको हो ।

ट्रक चालक ढुङ्गेलको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button