सृजनाको चौतारी

जगदीशचन्द्रका तीन कविता

२०७८ श्रावण २८
सत्ता

गुलाम छ सत्ता, त्यस्तै बन्न चाहन्छ
सत्ताको गुलाम

मस्तिष्कमा
गुजुल्टिएको छ
गुलामी चिन्तन

उत्तर आधुनिक
वा पुँजीवादी
दासप्रविधिमा
रचिएको छ

सत्ता पनि
गुलाम पनि

यस्तै हुन्थ्यो

पहिले पनि यस्तै हुन्थ्यो
उताको यता आउँथ्यो
यताको उता जान्थ्यो
कहिले कुन भारी हुन्थ्यो
कहिले कुन भारी हुन्थ्यो

एउटाको नाक
अर्कोले लगाउँथ्यो
अर्काको टाउको
अर्कोले सजाउँथ्यो

कहिले ऊ माथि हुन्थ्यो
कहिले ऊ तल हुन्थ्यो
आफ्नो मोल आफैं लगाउँथ्यो
बेचिएर सधैं नाउँ कमाउँथ्यो

बेच्थ्यो बेचिरहन्थ्यो
यस्तै यस्तै चलिरहन्थ्यो
कहिल्यै थाहा हुन्नथ्यो
इमान्दार मानिस
दर्शक झैं उभिरहन्थ्यो
यो बेमानी सहिरहन्थ्यो

व्यवस्थाको कन्चट

केही छैन फरक
उस्ताको उस्तै
मानिसलाई घोप्ने
व्यवस्थाको धारिलो
हतियार
सबैतिर मार्चपास गरिरहेछ

उहिले देखि अहिलेसम्म
एउटा व्यवस्थादेखि
अर्को व्यवस्थासम्म
उही नाक उही नङ

व्यवस्था मेरो हो
कि व्यवस्थाको म
हरेक दिन बर्ष
मेरै कोमल तनमा
रगत चुहिने गरी घोप्छ
मानौं हजारौं वर्षदेखि
भोकै बसिरहेको छ
मानिस ताछ्ने
मानिस गिंड्ने
निर्दयी खुर्पा र बन्चरो

संसद चुनाव विघटन
राष्ट्रपति प्रधानमन्त्री
के के पालिकाको
अनेक थरी कुरा गर्छ
म भने भोकको कुरा गर्छु
उज्यालोको कुरा गर्छु
रोगी व्यवस्थाको कन्चटमा
एकैचोटि हान्ने कुरा गर्छु

moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button