खबर

सङ्खुवासभा हत्या प्रकरण : नगद र गरगहना सुरक्षित, हत्या रहस्यमय

काठमाडौं,भदौ २३, २०७८
बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो। तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ। प्रारम्भिक आशंकाले मेल नखाएपछि हत्या ‘रहस्यमय’ बनेको छ।

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो। बौदमानकी पत्नी, छोरा तेजबहादुर र बुहारी कमलाको शव सोमबार बिहान घरबाहिर भेटिएको थियो। तेजबहादुरकी बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र ७ वर्षीया नातिनी गोमाको पनि हत्या भएको थियो।

वृद्ध बौदमान मात्र सकुशल भेटिए। सोमबार बिहानदेखि अनुसन्धान गरेको प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन। अनुसन्धानमा लगिएको कुकुरले पनि घटनामा कुनै संकेत देखाउन सकेन। प्रहरीले बौदमानको घरमा भेटिएको नगद र गहनाको विवरण भने सार्वजनिक गर्न चाहेन। अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

खोलागाउँ सोमबार बिहानैबाट शोकमा डुबेको छ। एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको दुई दिन बित्दासमेत अभियुक्त पक्राउ पर्न सकेका छैनन्। घरमा भएको पैसा चोरी गर्ने उद्देश्यले परिवारका सदस्यको पनि हत्या गरेको आशंका गाउँलेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button