
कात्तिक ११, २०७८
एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारवाओ) कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।लगातार चार पटकको च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुदै अन्तिम १६ बाटै बाहिरिएको हो ।
वेस्टह्यामको मैदानमा बुधबार राति भएको खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा घरेलु टोलीले बाजी मारेको छ । पेनाल्टीमा घरेलु टोलीका सबै पाँच खेलाडीले गोल गर्न सफल भए ।
मार्क नोव्ले, जरोड वोवेन, क्रेइग डावसन, आरोन क्रेसवेल र सेड बेनरहमाले गोल गरे । सिटीको पहिलो पेनाल्टी नै चुकेको थियो । फिल फोडेनले गोल गर्न सकेनन् । जोओ क्यान्सेलो, गाब्रियल जेसस र ज्याक ग्रेलिसले गोल गर्न सफल भएपनि हार टार्न सकेन ।
अर्काे खेलमा टोटेनहम हटस्परले बर्नलेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । लुकास मोउराले ६८औं मिनेटमा गरेको गोल नै टोटेनहमलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।
अर्काे खेलमा प्रिमियर लिग क्लब ब्रेन्टफर्डले च्याम्पियनसिप क्लब स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । ब्रेन्टफर्डको जितमा सेर्गी कानोस र इभान टोनीले गोल गरे । स्टोकका रोमाइनी सयर्सले एक गोल फर्काए ।
यो सँगै कारवाओ कपको क्वाटरफाइन समिकरण पुरा भएको छ । आर्सनल, चेल्सी, सन्डरल्यान्ड, लेस्टर, लिभरपुल, टोटेनहम, ब्रेन्टफर्ड र वेस्टह्यामले अन्तिम आठमा स्थान बनाएका छन् । क्वाटरफाइनल ‘ड्र’ आइतबार हुनेछ ।hamrokhelkud/from



