खबर

ललिता निवासको १४३ रोपनी हिनामिना

काठमाडौं,पुस १५, २०७८
बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको छ। यही निश्कर्षसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा चलाउने तयारी गरेको छ। यसबारे ब्युरोको टोलीले तीन वर्ष अनुसन्धान गरेको थियो।

त्यस क्रममा १ सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको ब्युरोका प्रवक्ता श्यामकुमार महतोले बताए। यस्तै, बाटो बनाउने नाममा सात रोपनी हिनामिना भएको अनुसन्धानले देखाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ३६ रोपनीभन्दा बढी हिनामिना भएको भन्दै विशेष अदालतमा मुद्दा चलाएको थियो। शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले २ सय ९९ रोपनी जग्गा जफत भएको हो कि होइन भनेर अध्ययन गरेको थियो। जसमा सरकारले १४ रोपनी ११ आना मात्रै जफत गरेको समितिको निष्कर्ष थियो।

किर्ते गरी चारपटक व्यक्तिका नाममा दर्ता गरेको पाइएको अनुसन्धानले देखाएको छ। २०४९, २०६२, २०६७ र २०६९ मा भएका किर्तेविरुद्ध छुट्टाछुट्टै चार मुद्दा अघि बढाउने तयारी रहेको प्रवक्ता महतोले बताए। ब्युरोले मुख्य योजनाकार भनिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पुस ६ गते पक्राउ गरी अनुसन्धान गरिरहेको हो। अन्य आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छैन। अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button