मूल खबर

स्थानीय चुनावप्रति राष्ट्रपतिको चासो

काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसारै गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छन्।

प्रधानमन्त्री देउवा बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। भेटका क्रममा राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाअनुसार स्थानीयलगायत सबै तहका निर्वाचन गराउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएकी हुन्।

संविधानले तीनै तहका सरकार जनप्रतिनिधिविहीन अवस्थाको परिकल्पना नगरेको औंल्याउँदै राष्ट्रपति भण्डारीले सरकारले संविधान र कानुनअनुसार नै गर्नेमा आफू विश्वस्त रहेको बताएकी थिइन्। कार्यकाल सकिएपछि निर्वाचन गर्ने विगतको व्यवस्थाले मुलुक जनप्रतिनिधिविहीन अवस्थामा पुगेको स्मरण गराउँदै उनले स्थानीय तहको निर्वाचन मिति संविधान र कानुनको सीमाभित्र रहेर तत्काल तोक्न प्रधानमन्त्रीलाई आग्रह गरिन्।

जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनबारे सरकार राजनीतिक दलसँग परामर्शमा रहेकाले छिट्टै टुंगोमा पुग्ने बताएका थिए। सरकार संविधान र कानुनभन्दा बाहिर जानै नसक्ने र नजाने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री देउवाले संविधान र कानुनभित्र रहेर सबै तहको निर्वाचन समयमै गराउने बताएका थिए।

देउवाले आफ्नो नेतृत्वको सरकार संविधान रक्षाकै लागि बनेको र त्यसभन्दा बाहिर जानै नसक्ने धारणा राखेको स्रोतले बतायो। तर सरकार सत्तागठबन्धन दलहरूको आग्रह र संविधानको धारा २२५ मा टेक्दै स्थानीय तहको निर्वाचन कम्तीमा असोज २ गतेपछि गर्ने तयारीमा जुटेको छ।

प्रधानमन्त्री देउवाले संसद्मा जारी गतिरोध अन्त्यका विषयमा सरकारले गरेका पहल र अहिलेसम्मको प्रगति, बुधबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन, कोरोना भाइरसको तेस्रो चरणको संक्रमण र रोकथामका लागि सरकारको तयारीलगायतका विषयमा पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए।nagariknews/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button