विचार

चुङ्गिकर देखि दमकल सम्म चर्चामा मेचीनगरपालिका !

झापाको मेचीनगर नगरपालिका यसर्थ पनि परिचित छ कि यो नेपालको पूर्वी नाकामा रहेको नगरपािलका हो, यसर्थ पनि यो नगरपालिका परिचित छ कि नगरपालिका बनेकै समयमा चुङ्गिकर प्रकरणले यसले अझ चिनिने मौका पायो । अक्सर मेचीनगरपालिका चर्चामा आउन आफै विषय खोज्छ कि जस्तो भएको छ । कहिले मकै, कहिले ढुङ्गा,कहिले खोलाकरको रसिद, कहिले कर्मचारी सरुवा त कहिले दमकल जस्ता विषयमा चर्चामा आउने यसको आदत नै जस्तो भएको छ । सतहमा देखिएका केही विषय मात्र हुन सक्छन् यी भित्र अरु के छन् त्यो पनि समयले आफै उजागर गर्दै आउँछ नै होला । केही दिन यता मात्रै करिब एक सातामा मेचीनगर क्षेत्रमा तीन ओटा आगलागीका घटना भए । यी तीन ओटै आगलागीका घटनामा छिमेकी नगरपालिका, अन्य जिल्ला मात्र होईन छिमेकी देश भारतबाट समेत आगो निभाउन दमकल आए तर मेचीनगरपालिकाको दमकलले कतै काम काटेन । मेचीनगरपालिकाको दमकल बिग्रिएको कुरा धेरै अघिदेखि नै आएको थियो । सर्वसाधारण नागरिकले समेत सामाजिक संजालमार्फत शिघ्र दमकल मर्मत होस भनेर माग समेत गरेका थिए ।तर, आगलागीका घटना हुदै गए दमकलको विषय मौन जस्तै भयो । आईतवार मेचीनगर ६ भानुटोलमा फेरि आगलागीका कारण दुईओटा घर भष्म खरानी भए मेचीनगरको दमकल देखिएन । पटकपटक दमकलको विषयमा आवाज उठाउँदै आएका नागरिक आजित बने अनि सडकमै आएर आफ्नो आक्रोश पोख्न बाध्य भए । त्यति मात्र होइन नागरिक आफैले अहिले मेचीनगरको दमक मर्मतका लागि भनेर पाँच रुपैयाँ उठाउन थालेकाछन्। हाम्रा जनप्रतिनिधि र स्थानीय सरकारका लागि यो विषय कति गम्भिर र संवेदनशिल छ ! नागरिकको कर बाट चल्ने स्थानीय सरकार अनि उनै नागरिकको हक,हित र अधिकारका लागि भनेर निर्वाचित बनेका जनप्रतिनिधिहरु तपाईहरुले काम काट्न सक्नु भएन भनेर जनताले पाँच रुपैयाँ दमकल मर्मतका लागि भनेर उठाउँदै गर्दा अब भन्नुहोस तपाई सहयोग गर्नु हुन्छ या कुनै तर्क राखेर पन्छिन खोज्नु हुन्छ ? यदि लामो समय सम्म पनि दमकल मर्मत हुन नसक्ने थियो भने किन विकल्प खोज्नु भएन ?नागरिकको ज्यान र धन भन्दा ठूलो सरकार र जनप्रतिनिधिका लागि केही पनि हुदैन भन्ने यहाँहरुलाई थाहा छैन , किन अर्को दमकल खरिद गर्नु भएन ?आगो भनेको दिल्लगी होइन भनेर मेचीनगरनगरपालिकालाई थाहा छैन ?दमकल चाहियो भन्दै जनता सडकमा आउनु भनेको उनीहरुको आक्रोश मात्र होइन तपाईहरु जनताप्रति कति जिम्मेवार हुनुहुन्छ भन्ने जवाफदेहीताको प्रमाण पनि हो ।किन मेचीनगरनगरपालिका जनमुखि काम गरेर यहाँका नागरिकको धन्यवाद लिन सक्दैन ?किन मेचीनगरपालिका जनताको मनको सम्मान लिनबाट सधै पछि पर्छ एकपटक गम्भिर बनेर सोच्नुहोस । स्थानीय सरकार भनेको स्थानीय जनता वा नागरिकको रक्षाकवज पनि हो, सरकार हरसमय जनतासँग हुनु पर्छ, नागरिकले म सँग मेरो सरकार छ भन्ने महशुष गर्न पाएको भए शायद सडकमा टायर बाल्नु पर्ने थिएन होला अनि मैले पनि यो तितो जस्तो लाग्ने सत्य पोख्नु पर्ने थिएन होला । आगे आफ्नो विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button