
काठमाडौं
एजेन्सी
नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित पर्वतारोहण सम्बन्धि निकायलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो ।
युक्रेनले पत्रमा आफ्नो देशविरुद्ध रूसी सशस्त्र आक्रमणका क्रममा ११७ बालबालिका सहित हजारौं नागरिकको मृत्यु भएको र करोड आसपासमा आन्तरिक रुपमा विस्थापित हुन परेको उल्लेख गरेको छ ।
रक्तपातपूर्ण युद्ध सुरु गर्ने रुसका प्रतिनिधिलाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय फुटबल, बास्केटबल, टेनिस, हकी, बक्सिङ, एथलेटिक्स जस्ता कयौं अन्तर्राष्ट्रिय खेल संघहरूले सहभागितामा प्रतिबन्ध लगाएका वा बाहिर राखेको भन्दै युक्रेनी दूतावासले नेपालसँग युक्रेनमा आक्रमण जारी रहेसम्मका लागि रुसी पर्वतारोहीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेको छ ।नागरिक न्युज अनलाइनबाट ।



