स्वास्थ्य

मुसाले टोक्यो? ‘र्‍याट बाइट फिबर’ होला है!

डा शेरबहादुर पुन
‘र्‍याट बाइट फिबर’ अर्थात् ‘मुसाले टोकाइले आउने ज्वरो’ को चर्चा खासै हुने गर्दैन। यद्यपि भारतमा भने २३०० बर्ष पहिले देखि नै जानकारीमा रहेको पाइन्छ। अस्पतालमा मुसाको टोकाइ पछि परामर्श लिन आउनेको संख्या हेर्दा पनि दैनिक मुसाको टोकाइबाट धेरै घाइते हुने रहेछन् भनेर सहजै अनुमान गर्न सकिन्छ। मुसाले टोकेपछि अस्पताल नै नआउनेको संख्या अझ अधिक हुनसक्दछ।

मुसाले टोकेपछि धेरैले रेबिजविरुद्धको खोप लगाउने भन्ने मात्र सोचेको देखिन्छ र त्यसैले अस्पताल आउने गरेको देखिन्छ तर मुसाको टोकाइले हुनसक्ने ‘र्‍याट बाइट फिबर’को बारेमा भने धेरै अनविज्ञ नै देखिन्छ। लेखकसंग आफ्नो दुई दशकको अवधि भरमा झन्डै आधा दर्जनको हाराहारीले मात्र ‘र्‍याट बाइट फिबर’संग मिल्दो लक्षणहरु लिएर परामर्शका लागि आएका अनुभव छ। हुनत, मुसाको टोकाइ वा कारणले धेरै र कतिपय त घातक संक्रामक रोगहरु पनि फैलने/फैलाउने गरेको पाहिन्छ। तर, यो लेखले मुसाको टोकाइबाट ज्वरोको लक्षण देखिने दुइ ब्याक्टेरियल संक्रामक रोगको बारेमा जानकारी दिनेछ।

‘र्‍याट बाइट फिबर’ कसरी फैलन्छ?
संक्रमित मुसाले टोके वा कोतरे/चिथारे ब्याक्टेरिया खुल्ला छालाबाट शरीरमा प्रवेश गर्न सक्दछ। संक्रमित मुसाको र्‍याल, दिसा वा पिसाबबाट पनि सर्न सक्दछ। संक्रमित मुसाको र्‍याल, दिसा वा पिसाब मानिसको नाक, मुख र आँखा मार्फत पनि ब्याक्टेरिया प्रवेश गर्न सक्दछ। तर ‘र्‍याट बाइट फिबर’ मानिसबाट मानिसमा भने सर्दैन।

लक्षणहरु कस्ता हुन्छन?
दुइ फरक ‘र्‍याट बाइट फिबर’ गराउने ब्याक्टेरियल संक्रमणहरुमा निम्न लक्षणहरु देखिने गर्दछ।

स्ट्रेपटोबेसिलोस मनीलीफोर्मिस संक्रमण:- सामान्यतय संक्रमण भएको ३ देखि १० दिन भित्रमा निम्न लक्षणहरु देखिन सक्दछन।
१) ज्वरो आउने।
२) वाक-वाक वा बान्ता हुने।
३) जिउ वा जोर्नी दुख्ने (वा सुन्निने)।
४) ज्वरो देखिएको २ देखि ४ दिनमा शरीर हात वा खुट्टामा बिबिरा देखिने।

यदी समयमा उपचार न गरिए शरीरका बिभिन्न अंगहरुमा जस्तै मुटु, मिर्गौला, कलेजो, फोक्सो, मस्तिष्कमा जटिलताहरु देखिन सक्दछ। जटिलता देखिएका १० प्रतिशतको मृत्यु हुनसक्दछ।

स्पिरिलम माइनस संक्रम :- संक्रमण भएको एक देखि तीन हप्ता सम्ममा निम्न लक्षणहरु देखा पर्न सक्दछन्।
१) ज्वरोको उतारचडाप।
२) मुसाले टोकेको ठाउ सुन्निने वा घाउ हुने।
३) लिम्फ ग्रन्थिहरु सुन्निने।
४) ५० प्रतिशत संक्रमितमा शरीर भरी बिबिराहरु देखिन सक्दछ।

नेपालमा ‘र्‍याट बाइट फिबर’को अवस्था कस्तो छ भनेर यकिन तथ्यांक त छैन तर दैनिक मानिसहरु संक्रमित भैरहेको नहोला भन्न भने सकिदैन। किनभने गाउँ होस् वा शहर मुसाको समस्या जहाँ पनि उत्तिकै देखिन्छ र टोकाइ पनि प्रशस्त भएको हामीले सुन्ने गर्दछौं। समयमा नै पहिचान वा चिकित्सकसंग परामर्श गर्न सके ‘र्‍याट बाइट फिबर’को जटिलबाट सहजै जोगिन सकिनेछ।

-(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button