टिप्पणी
‘समयबद्ध’ले बागी उमेदवारलाई समर्थन गरेको अर्थ नलागोस् तर गोलबजार नगरपालिका मेयर उमेदवार छनौटमा माओवादी केन्द्रबाट अस्वाभाविक केन्द्रीयता लादिएको छ । फलतः चुनावी माहौल हेर्दा ‘आधिकारिक’ उम्मेदवार देवनाथ साह लगभग हारको डिलमा छन् भने लालटिन चुनाव चिन्ह पाएका ‘बागी’ उम्मेदवार रामचन्द्र महतो जीत सन्निकट छन् । आन्तरिक समर्थनको आकर्षण–विकर्षणले मात्र होइन, इतर राजनीतिक पक्षको जोडघटाउ र मुलतः जनअपेक्षा हेर्दा समेत रामचन्द्रको सहज जीतको आँकलन गर्न सकिन्छ ।
यसअघिको स्थानीय चुनावमा अर्कोपटक रामचन्द्रलाई पालो दिने गरी देवनाथलाई खडा गरिएको थियो । माओवादी केन्द्रका मधेस सह–इन्चार्ज विश्वनाथ साह र रामचन्द्र पार्टी जीवनमा समकालीन हुन् । पार्टीको केन्द्रीय भूमिकामा रहेका विश्वनाथले केवल एकपटक आफ्नो दाइ (देवनाथ) का पक्षमा अडान लिएपछि र देवनाथले समेत अर्को पटकका लागि दावी नगर्ने वचन दिएपछि रामचन्द्रले त्यसमा नाईंनास्ती गर्ने कुरा थिएन । उनी दिलोज्यानले देवनाथलाई जिताउन खटे ।
तर, अहिले पनि देवनाथले आफैं उठ्ने जिद्दी गरेपछि स्थानीय माओवादी खेमामा तरङ्ग पैदा भयो । जब कि ६० सदस्यीय नगरपार्टीका ४८ जनाले नगरप्रमुख उम्मेदवारमा रामचन्द्रलाई सिफारिस गरेका थिए । विश्वनाथ र देवनाथ पुरानो वचन पूरा गर्नु त कता कता केन्द्रसम्म टिकटको लबिङमा लागे । स्थानीय पार्टी कमिटी, जिल्ला इन्चार्ज, बहुमत प्रदेश कमिटी र केन्द्रीय तहमा समेत यसपटक रामचन्द्रले न्याय पाउनुपर्ने आवाज घनिभूत भए पनि देवनाथले नै टिकट पाएपछि गोलबजारका माओवादी समर्थक र जनतामा आक्रोश पैदा भएको छ । र, अब रामचन्द्रलाई नै जिताउनुपर्ने आन्तरिक भाव व्यक्त भएको छ ।
गोलबजार आफैंमा माओवादी केन्द्र बलियो भएको नगरपालिका हो । हिजोदेखि नै विश्वनाथ साह तथा रामचन्द्र महतोसहितका नेताहरू यहाँका माओवादी आधार हुन् । ०७० को दोस्रो संविधानसभा चुनावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही क्षेत्रबाट चुनाव जितेका थिए । अहिले विश्वनाथले माथिसम्म लविङ गरेर दाइको पक्षमा टिकट ल्याएपछि भने स्थानीयमा उनीप्रति गहिरो निराशा छाएको छ । धेरै मधेसी र तामाङ/मगरको समेत बाहुल्यता भएको यो नगरका सबै तहमा माओवादीको बलियो प्रभाव छ । पूरै प्यानलसहित चुनावी मैदानमा होमिएका रामचन्द्र खेमाबाट बास्ना मोक्तानले उपमेयरको उमेदवारी दिएकी छन्, उनी पनि पुरानो र प्रभाव भएकी जनराजनीतिकर्मी हुन् ।
विश्वनाथ जत्तिका नेताको दाइ र मेयर भइसके पनि देवनाथ राजनीतिकर्मी कम, बढी व्यापारी हुन् । निर्माण र ढुवानी सम्बन्धी स्थानीय हरेक उद्योगमा उनको लगानी छ । राप्रपा पृष्ठभूमिका उनी यसअघि मेयर पाउनकै लागि माओवादीमा आवद्ध भएका थिए । मधेसका नैतिक र प्रतिवद्द नेता ठानिएका विश्वनाथ दोहो¥याएर परिवारमोहमा पर्नु आश्चर्यजनक छ । त्यसो त विश्वनाथ आफैं संविधानसभा सदस्य र शान्तिमन्त्री भइसकेका व्यक्तित्व हुन् । उनकी श्रीमती सीता पोखरेल यसअघि संघीय सांसद हुन् । भतिजी निशा साह समेत सांसद भइसकेकी छिन ।
कुनै पनि हालतमा आफैंले टिकट पाउनैपर्ने जिद्दी रामचन्द्रको थिएन । ‘उम्मेदवारी छनौटको पद्धति, नैतिकता र औचित्यप्रति मेरो आपत्ति हो’ उनी भन्छन् । यद्यपि पद्धति र क्रम अनुसार रामचन्द्रले नै मेयर टिकट पाउनुप-थ्यो । ०७४ को स्थानीय चुनावमै उनी मेयरको प्रमुख दावेदार थिए । यति लामो राजनीतिक जीवनमा पार्टीले नमीठो घात र अन्याय गरेको महसुस रामचन्द्रले गरेका छन् । रामचन्द्रले मात्र होइन, हरेक स्थानीयले त्यो महसुस गरेका छन् ।
‘राजनीतिमा नैतिकता हुनुपर्छ । पदलोलुप भएको होइन, राजनीतिक क्रियाशिलताबीच जिम्मेवारी वा अवसर पनि खोजिन्छ । पार्टीमा जिम्मेवारी र अवसरहरूको व्यवस्थापन गर्ने एउटा पद्धति हुन्छ । इमान, नैतिकता र पद्धति छाडेर गुटीय मनोमानी गर्नु मलाई पार्टीमा नबस् भन्नु हो । त्यसैले म स्वतन्त्र उठेको छु’, रामचन्द्रले भने ।
हुन पनि पार्टी भनेको पद्धति पनि हो । अझ कम्युनिष्ट पार्टीमा त आवश्यकताका आधारमा कमिटीले गर्ने निर्णय जनभावनाका रूपमा अभिव्यक्त हुन्छ । अति भएपछि जनताले गर्ने फैसला नै अन्तिम हुन्छ । ०४९ र ०५४ सालको स्थानीय निर्वाचनमै हाल गोलबजारमा गाभिएको चन्द्रउदयपुर गाबिसबाट अध्यक्ष निर्वाचित भइसकेका र जनप्रभावका दृष्टिले संविधानसभामा पार्टी अध्यक्षलाई जिताउनेदेखि ४० बर्षदेखि जनताको फुसको छानोसम्ममा पुगेर सुखदुःख साट्ने मियोको भूमिकामा भएका रामचन्द्र महतोले पार्टीकै एक तप्काको नोकरशाही केन्द्रीयताका कारण स्वतन्त्र बन्नुपरेको छ । तर, उनको चुनाव चिन्ह लालटिनले एक आशाको प्रकाश भने संचार गरेकै छ । उनी भन्छन्– ‘यो लालटिनको प्रकाश पार्टी–सामन्तवादविरुद्धको प्रकाश हो ।’ माथि नै भनियो ‘समयबद्ध’ले बागीको समर्थन गरेको होइन, हजार वाटको बिजुलीले मात्र होइन, लालटिनका प्रकाशहरूले पनि फैलिन पाउनुपर्छ भनेको चाहिँ अवश्य हो । (समयबद्ध साप्ताहिक)



