समाजका यावत घटना, गतिविधि र प्रवृत्तिहरूको परख गर्ने र त्यसलाई श्रमजीवी बर्गीय दृष्टिकोण दिने ब्यक्तित्व बुद्धिजीवी हो।
त्यस दृष्टिले हेर्दा नेपालको आजको राजनीतिक सन्दर्भमा सामाजिक न्यायमा आधारित, समाजवादउन्मुख, सबै गरिखाने वर्ग र पेशालाई सम्बोधन गर्ने र अन्ततः बैज्ञानिक समाजवादमा संक्रमण हुने बौद्धिक प्रवृत्तिलाई हामीले चिन्नसक्नुपर्छ।
राज्य र समाजबिरोधी तथा आजसम्मको जनताको बलिदानबाट प्राप्त उपलब्धि बिरोधी तत्वको भण्डाफोर गर्नु र जनतालाई भ्रमपूर्ण आवेगबाट मुक्त गर्नु बौद्धिकहरूको प्राथमिक काम हो।
समाजवाद उन्मुख हाम्रो संबिधानले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र अभिव्यक्ति जस्ता स्वतन्त्रतालाई अकाट्य हकका रुपमा स्थापित गरेको छ। तर, त्यसलाई कमजोर बनाउने चोरबाटोहरु पनि शासकहरूले खोजेकै छन। त्यसबिरुद्द बुद्धिजीवीको आवाज बलशाली हुनुपर्छ।
आज कतिपय धाराका बुद्धिजीवीहरू सर्बसत्ताको आकांक्षाबिरुद्ध र जनमान्यताको पक्षमा उभिन हिच्किचाइरहेका छन्। कतिपय सन्दर्भमा त प्रतिगमन र यथास्थितिको गोटी जस्तो भएका छन्। जब शासकहरुले जनमान्यता खण्डित गर्न सक्दैनन् तब भ्रमहरु निर्माण गर्छन्। त्यसमा बुद्धिजीवी समेत प्रयोग हुन्छन्।
कतिपय सन्दर्भमा हामी त्यही प्रबृत्ति झेलिरहेकाछौं। त्यस प्रवृत्तिलाई कमजोर बनाउन र जनसवाललाई सम्बोधन गरिराख्न जनपक्षीय बुद्धिजीवीहरूको योजनाबद्ध पहल जरुरी छर आज त्यसको थप आवाश्यकता अरु बढेर गएको छ। किनकि अरु बुद्धिजीवी बुद्धि मात्र बोक्छन हामी चेतना बोक्छौं। त्यसैले यथास्थितिको सट्टा अग्रगमन, भ्रमको सट्टा यथार्थ र जड र स्थिरताको सट्टा बैज्ञानिक गतिशीलता हाम्रो बिशेषता हुनुपर्छ।
जनमान्यता अनुसारको नेतृत्वदायी र बिचार निर्माण हैसियत राख्ने बुद्धिजीवीको प्रभाव संख्यामा त जबर्जस्त नै छ। तर, यसप्रभावलाई व्यापक र आम तहमा पुर्याउने संस्थागत योजना भने सुन्यप्रायः छ। आन्दोलनले निर्माण गरेको सुदृढ आर्थिक, सामाजिक, राजनीतिक तयारीले होइन कि ब्यक्ति र संस्थाहरुको चेतनाले मात्रै आजको बौद्धिक गतिविधि जेनतेन चलेको छ। यसलाई आन्दोलनका रुपमा बिकास गर्न ढिलो भैसकेको छ।
यसलाई चेतनागामी, आन्दोलनगामी र दीर्घकालीन बनाइराख्न सांगठनिक पहल भएन भने मान्यतापक्षधर बौद्धिक प्रभाव कमजोर पर्ने खतरा छ। सत्यको निरुपण गर्दै आफ्ना आदर्श र मुल्यमान्याताबारे नियमित परख गर्ने, बहस गर्ने, खबरदारी गर्ने तथा शिक्षा र सुचनालाई महत्व दिइराख्ने कामलाई ब्यबस्थित गर्न अब ढिलो गर्नुहुँदैन।
आजसम्मका आन्दोलनले राज्यका स्रोत र संयन्त्रको केही पुनर्संरचना गरेसंगै बुद्धिजीवीको सामाजिक दायित्व अरु बढेको छ। प्रादेशिक र स्थानीय बिचारमन्थन र कामको प्राथमिकतामा धेरै गर्न बाँकी छ। जनताको आधारभूत उपस्थिति रहेको स्थानीय तहको चुनाव भर्खरै सकिएको छ। त्यसले राजनीतिक नेतृत्व त पाएकै छ। तर ,त्यसलाई जनपक्षीय बिकास नेतृत्व बनाउने बैचारिक अभियान र जनदबाब सिर्जना गर्न नसक्ने हो भने आमतहमा राज्य पुनर्संरचनामाथिनै अविश्वास पैदा हुने खतरा रहन्छ।
राष्ट्र(जनता)भित्रको बिबिधता नै राज्य हो। त्यसैले बिबिधतामुलक नेपाल बहुराष्ट्र भएको देश हो। त्यसको एकीकृत र समुच्च रुप हो राष्ट्रियता। शोषित, उत्पीडित आन्तरिक राष्ट्रियतालाई समुन्नत बनाउँनकै लागि संघीयताको अवधारणा आएको हो। जातीय, बर्गीय, क्षेत्रीय, लैङ्गिक, आर्थिक, भाषागत, सांस्कृतिक उन्नययन नै राष्ट्रियता बलियो बनाउने कडी हो। यसपक्षमा आधारभूत तहनै जागृत हुनेगरी बिकास चेतना निर्माण गर्न अन्यन्त जरुरी छ।
बिदेशीको आडमा जातीय अहंकार, त्यो पनि तराईमधेशमा सम्भ्रान्तको प्रभुत्व बनाउने, मुक्तियुद्दको नाममा देशलाई बिखण्डन गर्ने कतिपयको नियत समेत संघीयतामा घुसेको छ। यसलाई पनि सहि अर्थमा बुद्धिजीवीले नै चिर्न सक्नुपर्छ।
नेपाली राजनीतिको परिवर्तन अभियानले आजसम्मको चरण कसरी पुरागर्यो?कम्युनिष्टहरूले भन्ने गरे झैं हामी क्रान्तिको कुन चरणमा छौं? हामीले भनेको पुँजीवादीरजनवादी क्रान्तिको चरण पूरा भैसकेको हो रु हो भने के बिचारमान्यता बोकेर अब हामी समाजवादमा संक्रमण हुदैछौं? यसबारेको अलमललाई पनि चित्तबुझ्दो निर्क्यौल गर्न ढिला भैसकेको छ।
जनवादी क्रान्तिको सम्पन्नता भन्नू राजनीतिक परिवर्तन मात्रै होरु त्यसमा अर्थसामाजिक परिवर्तन पनि पर्छ भने आजपनि किन जनताको जीवनस्तर उही छ? सम्झौताको दस्तावेजको रुपमा आएको यो संबिधानले आज नै समाजवादी अर्थब्यबस्था लागू गर्छ भनेको त होइन, तर समाजवादको लक्ष्य निर्धारण गरेको संबिधानको अर्थसामाजिक चरित्र के हुनुपर्छ?यी यावत बिषय आज अलमलमा छन। बुद्धिजीवीले नै हो यसमा स्पष्टता दिने।
जस्तो कि कम्युनिस्ट आन्दोलनले जन्मदेखिनै उठाएको क्रान्तिकारी भुमिसुधारको एजेण्डा ऐतिहासिक जनयुद्ध ०६२÷ ०६३ को जनक्रान्तिपछि भने गायब भयो। किन गायब भयो? जमिनमा श्रम गर्नेको जमिन नहुने, प्रभावकारी र जीवनमुखी खेती नहुने समस्या ज्युँका तिउँ राखेर अर्थसामाजिक रुपमा जनवादी क्रान्ति कसरी सम्पन्न भयो?यसता अलमल र बिरोधाभाषलाई चिर्न ढिला भैसकेको छ।
सबै घटना, गतिविधि र प्रबृत्तिहरूको समाजशास्त्रीय निरुपण गर्दै अगाडि बढ्नु जरुरी छ। समाज, समाजवादको संक्रमण चरणमा कसरी पुग्छ? अनि त्यो समाजवाद कस्तो हुन्छ? पुँजीवादी?जनवादी क्रान्तिले समाधान गर्न नसकेका बिषय समाजवादले कसरी हल गर्छ? हाम्रो बैचारिक चिन्तन यसैको वरिपरि केन्द्रित हुनुपर्छ।



