मूल खबर

अहिलेसम्म ९२१ जना समातिए

मधुसूदन रायमाझी, काठमाडौं।प्रतिबन्ध लगाएसँगै आक्रामक अप्रेसन अगाडि बढाएको प्रहरीले विप्लव समूहका नेता/कार्यकर्ता पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको देखिएको छ।
पटक–पटक आह्वान गर्दा वार्तामा नआएको र हिंसात्मक घटना घटाएको भन्दै सरकारले गत फागुन २८ गते उक्त समूहलाई प्रतिबन्ध लगाएको थियो। वार्तामा नआएसम्म पक्राउ गरेरै नियन्त्रणमा लिने सरकारको नीति छ।

प्रहरीका प्रवक्ता विश्व पोखरेलले विप्लव समूहका नेता/कार्यकर्ता पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएको नेपाल समाचारपत्रलाई बताउनुभयो।उहाँले दाङबाट २१ जना नेता तथा कार्यकर्ता पक्राउ गर्नसक्नुलाई प्रहरीको ठूलो सफलता भन्नुभयो।

प्रहरीले अहिलेसम्म एकीकृत क्रान्तिको कार्यदिशा अगाडि सार्दै भूमिगत भएको भनिएको विप्लव समूहका ९ सय २१ जना नेता/कार्यकर्ता पक्राउ गरेको छ। काठमाडौंबाट सबैभन्दा बढी १ सय ६४ जना नेता/कार्यकर्ता पक्राउ परेकोमा ७४ जना छुटेको महानगरीय प्रहरी कार्यालय प्रमुख शैलेश थापा क्षेत्रीले बताउनुभयो।

प्रवक्ता पोखरेलले पक्राउ परेका ९ सय २१ मध्ये ६ सय ६४ जनामाथि मुद्दा दर्ता गराएर छाडिएको र १ सय १३ जना पुपक्र्षका लागि थुनामा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सर्लाहीको लालबन्दी–१ लखनीमा जिल्ला इन्चार्ज कुमार पौडेल, भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा तीर्थराज घिमिरेको मृत्यु भएको छ।

तर पछिल्लो समयमा पक्राउको क्रम बढे पनि मुठभेटका घटना भने रोकिएका छन्। हेमन्त प्रकाश ओली, माइला लामा जस्ता नेताहरू जेलमा छन्। यसैबीच प्रतिबन्धित नेकपा समूहलाई वार्तामा आउनका लागि सधैं ढोका खुला रहेको तर्क सरकारको छ।

विप्लव समूहले भने सरकारले दमनको नीति लिएकाले वार्ताको वातावरण नरहेको दाबी गर्दै आएको छ। सरकारले वार्तामा नआएको अवस्थामा महासचिव विप्लवलाई नै पक्राउ गर्ने नीति लिएको बताइन्छ।

पार्टीका प्रभावशाली नेताहरू पक्राउ पर्दै जाने र कार्यकर्ताहरू मूलधारको राजनीति गर्ने भन्दै आत्मसमर्पण गर्ने क्रम बढिरहेको अवस्थामा अब विप्लवको बाटो के हुन सक्छ भन्ने चर्चा पनि शुरू भएको छ।

सत्तारुढ दल नेकपाका नेता मणि थापाले सरकारले वार्तामा बोलाउँदा नआएकाले अब विप्लव स्वयमं्ले वार्ता आह्वान गर्नुपर्ने बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘तत्काल वार्ता टोली घोषणा गरेर समस्या समाधानको उपाय खोज्नुपर्छ विप्लवले।’नेपाल समाचारपत्र अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button