कृषि र किसान

खडेरीको चिन्ताले पिरोलिदै किसान

न्युज अफ नेपाल
महोत्तरी । भदौ पहिलो साता बित्दै गर्दा माटो गालेर पानी नपरेपछि महोत्तरीका किसान खडेरीको चिन्ताले पिरोलिएका छन् । मल, बीउको अभावबीचमै रोपिएको धान पानीबेगर राम्रोसँग हुर्कन नसक्दा किसानको मन कुँडिएको छ ।

धानको रोपो हरियो हुँदै गाँजिन दिनदिनै पानी पर्नु बेला लगातार साँझ, बिहान चैत वैशाखको जस्तो तातो बतास चल्ने र दिनभरि टण्टलापुर घाम लागेपछि यसपालि खडेरी पर्ने लक्षण देखिएको किसानको भनाइ छ । मुख्यबाली मानिएको धान अपेक्षित रोपाइँ हुन नसकेको र रोपिएको धान पनि रोपोमै पानीबेगर पहेँलिदै गएपछि मन बुझाउने ठाउँ नदेखिएको यहाँका किसान बताउँछन् ।

“झमझम पानीमा रुझ्दै खेतमा धान गोड्नुपर्ने बेला हो, तर रोपेका खेतमा धजा फाटेको देख्नुपरेको छ”, जिल्लाको भङ्गाहा–३ कटैयाका किसान रामराजी यादव भन्नुहुन्छ, “साउन अन्त्यदेखि नै बढेको तातो बतास चल्ने क्रम र दिउँसभरिको टण्टलापुर घामले यसपालि अनिकालको लक्षण देखाउँदैछ ।” पानीकै अभावले आधाभन्दा बढी खेत धान रोप्न नपाएर बाँझै बसेको र रोपेको धान पनि पानीबेगर पहेँलिएर सुक्दै गएपछि अब धान फल्ने आश मर्दै गएको यादव बताउनुहुन्छ ।

साउनमा पश्चिम दिशाको र भदौमा पूर्व दिशाको चिसो हावा चले पानी पर्ने मैथिल उक्ति छन् “तर यसपालि न साउनमा ती लक्षण देखियो, न भदौमा देखिँदै छ”, बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा भन्नुहुन्छ, “झमझम पानी पर्नुपर्ने भदौ पहिलो सातामा चैत वैशाखको जस्तो तातो बतास पो चल्दैछ, अब धान फल्ने के आश रु” तातो बतासले जग्गाको चिस्यान खङ्रङग सुकाएपछि धानमात्र नभएर अन्य कम चिस्यानमा लगाइने बाली पनि पहेँलिदै गएका किसानको भनाइ छ ।

भङ्गाहा–५ सिद्धपुरका किसान परेखन सादा अहिलेको दिभरिको प्रचण्ड घाम र बिहान, बेलुकाको तातो बतासले रोगव्याध बढाउने लक्षण पो देखाएको बताउनुहुन्छ ।

यसपालि पानीले साथ नदिँदा अपेक्षित धान रोपाइँ हुन सकेन । जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टरमध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । तर स्थायी सिँचाइको प्रबन्ध नहुँदा अधिकांश जग्गाको खेती आकाशे पानीकै भरमा गर्नुपर्ने हुँदा यहाँका किसान ‘डाकवचन’ सम्झँदै पिरोलिन्छन् । यसपालि जिल्लामा दुःखजिलोे गरेर लगभग ६० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएपनि अहिले पानीबेगर रोपिएको धान पनि खेत खङ्रङग सुकेर धजा फाटेपछि रोपो गाँजिन सकेन ।

जिल्लामा अहिले १६ वटा सिँचाइ आयोजनाबाट छ हजार नौ सय९५ हेक्टरमा बाह्रैमास सिँचाइ उपलब्ध रहेको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वर कार्यालयले जनाएको छ । त्यसैगरी हाल निर्माणाधीन अवस्थामा रहेका नौवटा सिँचाइ आयोजनाले थप पाँच हजार दुई सय ३० हेक्टर जग्गामा छिट्टै सिँचाइ सुविधा पुग्ने कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव बताउनुहुन्छ । यद्यपि यी निर्माणाधीन सिँचाइ आयोजना कहिले सम्पन्न हुने हुन् यकिन नभएको किसान बताउँछन् । कूल खेतीयोग्य जग्गाको १० प्रतिशतमा मात्र सिँचाइ सुविधा रहेको र ती सुविधाका क्षेत्रका पानीका स्रोत पनि खडेरीले सुक्दै गएपछि आकाश ताक्नुको विकल्प नभएको सिञ्चित क्षेत्रकै किसानको कथाव्यथा छ ।

“नहर कुलो भएका ठाउँमा पनि लामो खडेरीले पानीका मूहान सुक्दैछन, अहिलेकै मौसम केही दिन रहे अब नहर÷कुलोमा कमिलाका ताँती हिँडेका देखिनेछ”, सिञ्चित क्षेत्र मानिने बर्दिबास–३ पाटुका ७० वर्षीय किसान सुदर्शन घिमिरे भन्नुहुन्छ, “आकाशे भरका जग्गाको खेती त भोग्नेले भोग्दै आएकै छन्”, जिल्लामा पानी नपर्दा किसानले इनार र बोरिङमा पम्पसेट लगाएर वैकल्पिक सिँचाइ गर्ने गर्छन् तर इन्धनको मूल्य आकासिँदा महँगो पर्ने र विद्युत् छिनछिनमा कट्ने भएपछि सधैँ यो अपनाउन गारो पर्ने किसानको भनाइ छ । अनि इनार र बोरिङमा खडेरीसँगै पानीको सतह गहिरिँदै जाँदा पम्पसेट चलाउन पनि नसकिने किसान बताउँछन् ।

जिल्लामा प्रतिहेक्टर तीन दशमलव पाँच मेट्रिक टन धान उत्पादन हुने गरेको सरदर आँकडा विज्ञ सुनाउँछन् । यहाँका रैथाने जातिका धानमा बासमति, जसवा, सञ्जिरा र वानपाकीजस्ता मुख्य मानिन्छन् । त्यसैगरी विकसित जातका भनिने सावित्री, हर्दिनाथ–१ र २ ,स्वर्णा सव– १, साँवा सव– १, सुक्खा– १,२ र ३, एव भारतीय जातका सोना मन्सुली र कतरनी बढी लगाइने गरिएको वरिष्ठ कृषि विकास अधिकृत डा यादवको भनाइ छ ।

किसानलाई कृषि सेवा बढाउन जिल्लाका १५ वटै स्थानीयतहमा वैकल्पिक सिँचाइको प्रबन्धलाई महत्व दिएर व्यवस्थित गरेमात्र आफूहरुले केही लाभ पाउनसक्ने यहाँका किसानको भनाइ छ । जिल्लामा कुनै स्थानीयतहले कृषि शाखा व्यवस्थित गर्नतर्फ रुचि नदेखाउनुले यसप्रतिको उपेक्षा अड्कल गर्न सकिने किसानको गुनासो छ । जिल्लाका १५ स्थानीयतहमध्ये कुनैले व्यवस्थित कृषि शाखा सञ्चालन नगर्दा कृषि कसैको प्राथमिकतामा नदेखिएको किसान बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button