
छन्दःदिक्पाल
तिम्रा कवाजले नेपाली झनै डराए
आशा थियो यहाँ चाहाना त्यसै हराए।
इच्छा भएर माथिल्लो खुड्किलो समायौ
आफ्नो रवाफ देखायौ झन् तिमी रमायौ।।
१
नेतृत्व आज आफू सस्ता भएर आए
आफ्ना सबै अँगालोमा बसेर खाए।
सौन्दर्य देश हाम्रो यो विश्व फैलिएको
देखाइ रामलीला जो हेर मैलिएको।।
२
यो देश वीरको गाथा त्यो भुलेर आयौ
साथी र दौँतरी ती आफ्ना सबै बचायौ।
नेपाल आज हाम्रा हाँसेर बाँच्नुपर्ने
हाम्रो खुशी उचाली संसार ताक्नुपर्ने।।
३
हाम्रा कथा हराए हामी हराउँछौँ झन्
आफ्ना ब्यथा जगाए आफै डराउँछौँ झन्।
माला उनेर जो आऊ आज स्वर्गभित्र
फुल्नेछ फूल हाम्रा मस्तिष्कमा बिचित्र।।
४
हाम्रा उचाइ बढ्नेछन् ती हिमाल हेर्दा
नेपाल स्वर्ग हाम्रो आहा ! मुहार फेर्दा।
त्यहीँ छ मूल्य यो नेपाली धरा समाऊ
भाषा र भेष आफ्नै संस्कारमा रमाऊ।
५
भातृत्व एकता झन् देखाइ विश्वमाझ
पौरख गर्नु आ आफू देश बन्दछ ताज।
जोगाइ देश हाम्रो आफै उठेर आऊ
देखाइ विश्वमा राम्रो छाप झन् बनाऊ।।
६
इलाम

