
लघुकथा:
(कसैको जिवनसँग मेल खाए काल्पनिक रचना सम्झनुहोला)
मेरो साथी सबेरै उठेर सँधैजसो हाम्रो घरमा गृहकार्य गर्न आउँथ्यो। हामी सँगै गृहकार्य गर्थ्यौँ।काम सकेर हामी रमाइलो गरेर खेल्थ्यौँ।खेलिसकेपछि ऊ खाना खान घर जान्थ्यो म पनि खाना खान्थेँ।कहिले काहीँ एकैठाउँ खान्थ्यौँ।धेरै जसो हामी सँगै हुन्थ्यौँ।विद्यालय जाँदा पनि हामी सँगै जान्थ्यौँ।एउटै गाउँ नजिकै घर भएर होला हामी प्रायःसँगै हुन्थ्यौँ।पढ्नमा ऊ म भन्दा धेरै तगडा थियो म पनि राम्रै थिएँ।हामीलाई गुरु गुरुमाहरूले धेरै माया गर्नुहुन्थ्यो।
अनुशासित र लगनशील भएको कारणले हुनसक्छ,हामी प्रत्येक वर्ष उत्रिण हुँदै कक्षा आठ पनि उत्रिण गर्यौँ।गाउँमा निमावि मात्र भएकाले हामी मावि पढ्नका लागि गाउँ छोड्नुपर्ने अवस्था बन्यो।हामी कहिले पनि झगडा गरेका थिएनौँ।जुनसुकै काम गर्दा पनि मिलेर गर्थ्यौँ।अब हामि फरक फरक विद्यालयमा पढ्नुपर्ने भयो।हामी निराश थियौँ।
ऊ म भन्दा टाढा पढ्नथाल्यो म घरदेखि केहि नजिकै थिएँ।हाम्रो भेटघाट विद्यालय बिदा भएको समय र चाडबाडमा मात्र हुन थाल्यो।भेटघाट हुँदा हामी खुशी हुन्थ्यौँ।भलाकुसारी गर्थ्यौँ,सँगै बस्थ्यौँ।समयको क्रमसँगै हामीले कक्षा ९पनि उत्रिण गर्यौँ। कक्षा दश मा भर्ना भएको समयमा जताततै माओवादी को बिगबिगी थियो।गाउँ समाज सबै माओवादी भनेपछि थरर हुन्थे।
समयको गति सँगै सेन्ट अप परिक्षा आउने बेलामा ऊ विधालयबाट भागेछ र माओवादीले ऊ सँगै अरु विधार्थीहरु पनि लगेछन्।मेरो एस एल सी सकिएपछि धेरै समयको अन्तरालमा ऊ दुई दिनका लागि घर आएको थियो।उसले मलाई पनि पाट्रीमा लाग्न अनुरोध गर्यो तर म मानिन।उसले मलाई दुई दिनमा धेरै कुरा बतायो। दिनैजसो उनिहरु पाट्रीको आदेशमा धेरै हिँड्नुपर्ने रहेछ जे भन्यो त्यहि गर्नुपर्ने रहेछ।बिभिन्न दस्तावेज, ग्रीनेट,बमहरु झोलामा बोकेर दिनरात हिँड्नुपर्ने रहेछ।उसका कुरा सुन्दा म बिक्षिप्त बन्थेँ।उसले म सँग दुई दिनमा धेरै कुरा गर्यो।अनि तीन दिनको बिहान सबेरै कसैले थाह नदिइकन फेरि हिँडेछ।
समयको पावन्दी सँगै मेरो एस एल सी को नतिजा सार्वजनिक भयो।म उत्रिण भएछु।केहि समय पश्चात कलेज पढ्न जाने निधो भयो।म कक्षा एघारमा पढ्दै थिएँ।वर्षे विदा हुन एकदिन बाँकि थियो।कलेजदेखि पारी गाउँमा नेपाली सेना र माओवादी कार्यकर्ता बिच भिडन्त भयो भन्ने हल्ला सुनियो।मलाई अति डर लाग्यो कतै मेरो साथी पनि छ कि भन्ने खुल्दुली भयो।
कलेज बिदा भएपछि म त्यहि दिन घरमा गएँ तर मेरो मनमा त्रासपूर्ण खुल्दुली मात्र भइनै रहयो तर पनि मैले घर परिवारमा कसैलाई घट्नाको बारेमा भनिन।त्यो समय संकटकाल थियो।बेलुका सात बजेतिर खाना खाइयो अनि सुत्न ओछ्यानतिर गएँ।त्यो समयमा समाचारमा सबैको चासो हुन्थ्यो। उज्यालो रेडियो नेट्वर्क बाट बेलुका आठ बजेको नेपाल दर्पण को प्रमुख समाचारमै घट्नाको बारेमा समाचार आयो म अतालिएझैँ भएँ समाचारमा साथीको नामसहित अन्य दुई जना मृत्यु भएको खबर सुनियो।गाँउघर सबैतिर हल्ला भएछ, घरपरिवारमा रुवावाशी चल्यो।कसैले केहि भन्ने अवस्था पनि थिएन। साथी गुमाएकामा सँधैजसो पश्चाताप भइरहयो।
वर्षे बिदा सकिएपछि पुनः कलेज खुल्यो।म कलेज गएको दुई दिन पछि त्यो भिडन्त भएको ठाउँको एउटा अर्को साथीले मलाई घट्नाको बारेमा धेरै कुरा बतायो म निशब्द सुनिरहेँ।
त्यो दिन एउटा घरमा दश जनालाई खाना बनाउन लगाएर माओवादी एउटा बन्द कोठामा बैठकमा ब्यस्त रहेछन्।खाना तयारी भएपछि खानाखान सबै बसेका ठाउँमा नेपाली सेनाको जमात पुगेछन्।सबै भाग्न खोज्दा सेनाले फायर सुरु गरेछ।दुई जनालाई भाग्दाभाग्दै गोलि हानेर हत्या गरेछन्।मेरो साथि पनि भाग्दै गर्दा दाहिने खुट्टामा गोली लागेछ। रन्थनिएर एउटा खुट्टा उचालेर एउटा घर परिक्रमा गरेछ।यसै क्रममा सेनाको एक जवानले यो निर्दोष गाउँले रहेछ यसलाई उपचार गर्नुपर्छ भन्दा भन्दै अर्को जमानले झोला खोतलेर हेर्दा माओवादीका केहि दस्तावेज र दुई थान ग्रिनेट बम भेटेछन्।त्यसपछि पाँच मिनेट घर परिवार संझन आदेश दिएर छातिमा गोली हानेर हत्या गरेछन्।
साथीको कुराले म अतालिएँ।मलाई झनै बिक्षिप्त बनायो म के गरौँ र कसो गरौँ जस्तो भयो।हजारौँ कलिला बालबालिकालाई राजनितिमा होमेर बलीका बोका बनाए,कति पढ्नबाट बञ्चित भए,कतिले अधिकार गुमाए,कति अपाङ्ग,कति टुहुरा बने, कतिका सिँउदो पुछिए।बडेमानहरू जुँगामा ताउ लाएर बसिरहेकाछन्।पीडितको मर्म र भावना कसले बुझ्ने हो?मलाइ थाह छैन। मैले त एउटा असल साथी गुमाएँ तर बारम्बार सम्झना आउँछ भने ति बाउआमा घरपरिवारलाई कस्तो हुँदो होला कठै! मलाई यस्ता कथाहरुले रातदिन पिरोलिरहेको छ। समाप्त।।
माईजोगमाई-१,इलाम

