खबर

विवादमा मुछिएका मेची भन्सार प्रमुखको एक वर्ष नबित्दै सरुवा

काँकरभिट्टा । पटक–पटक राजश्व छली घटनामा मुछिएदै आएका मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख केशवराज ओलीको अन्ततः सरुवा भएको छ ।

अर्थ मन्त्रालयले मेची भन्सार प्रमुखमा रामप्रसाद पाठकलाई पठाउन लागेको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयले २०७८ असोजमा मेची भन्सार प्रमुख ध्रुवराज विश्वकर्मालाई सरुवा गर्दै ओलीलाई पठाएका थिए । निजामती सेवा ऐन नियम अनुसार दुई वर्षसम्म सरुवा गर्न पाइँदैन । तर, मन्त्रालयले विवादमा तानिएका भन्सार प्रमुखहरूको एक वर्ष नबित्दै फेरबदल गरेसँगै ओलीको नाम पनि सूचीमा परेको स्रोतको भनाइ छ ।

सरुवा सूचीमा नाम परेपछि ओली केही समयअघि सरुवा थमौतीका लागि काठमाडौं गएका थिए । उनको सरुवा थमौती भएन । अन्ततः उनको एक वर्ष नबित्दै सरुवा भयो । भारतबाट आयातित सरसामान मेची भन्सार छिरे पनि कर्मचारीकै मिलेमतोमा भन्सारभित्रबाटै राजश्व छली हुने गरेको केही घटना बाहिरिएपछि भन्सार प्रमुख ओली विवादमा तानिएका थिए ।

गत जेठ २२ गते राति १२ बजे मेची भन्सारभित्रै पार्किङ शुल्कसमेत तिरेर भन्सारकै गेटबाट जाँच पास भइ निस्किएका रक्त चन्दनको बिरुवा र आलु बोकेका तीनवटा भारतीय मालवाहक ट्रक सशस्त्रले जोरसिमलमा नियन्त्रणमा लिएको थियो ।

लालिगुँरास फर्मले प्रज्ञापन पत्र नै नक्कली बनाएर कर छली गर्ने खोजेको आशङ्कामा सशस्त्रले डब्लुबी ३७ वि ७३८३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० ट्रकहरू नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाएको थियो । आलु भनेर भन्सारबाट राजश्व तिरेर ल्याएको ट्रकमा रक्त चन्दनको बिरुवा फेला परेको थियो ।

त्यस्तै, गत साउन ३१ गते मेची भन्सारबाट निस्किएका दुईवटा फुलबडी ट्रक सशस्त्र प्रहरीले बिर्तामोडबाट नियन्त्रणमा लियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको संयुक्त टोलीले ना ४ ख २०८५ र प्र–१०१–००१–ख ३५७७ नम्बरको फुलबडी दुईवटा ट्रक नियन्त्रणमा लिएको थियो ।

ट्रकहरू लत्ताकपडालगायत सरसामान भन्सारले सेटिङ मिलाएर कम मूल्याङ्कन गरी राजश्व तिराएर छाडेका थिए । सोही सूचनाको आधारमा सशस्त्रले नियन्त्रणमा लिएका दुईवटा ट्रक राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउनुको साटो पथलैया बुझाएका थिए ।

यता भद्रपुर भन्सार प्रमुख रामेश्वर मिश्रको पनि सरुवा भएको छ ।

भन्सार प्रमुख प्रमोद पौडेलको सरुवा भएपछि उनलाई २०७८ पुसमा भद्रपुर खटाएका थिए । भदौ अन्तिम साता सरुवा भएका मिश्रलाई अर्थ मन्त्रालयले भन्सार विभागबाट आन्तरिक राजश्वतर्फ सरुवा गरेको छ । मन्त्रालयले भद्रपुर भन्सार प्रमुखमा अमित तिवारीलाई पठाउन लागेको जनाएको छ ।जनसंसद अनलाइनबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button