
जी एन शर्मा
कविता
होचा मान्छे अर्थात भुँइका मान्छेहरुलाई
मान्छे तह दिन लजाउने उहाँहरु
आज ती झत्ते मान्छेहरुलाई
भेट्न झ्प्रा र छाप्रामा धाउँदै हुनुहुन्छ
लाग्छ हिजो उहाँहरुको अगाध स्नेह थियो
यी झत्ते मान्छेहरुलाई उहाँहरुले खोजी रहनु भएको थियो
उनीहरुका बारेमा सोची रहनु पनि भएको थियो
मैला कठाला भएका मान्छेहरु
हातभरि ठेला उठेका मान्छेहरु
श्रमका पसिना गन्हाएका मान्छेहरुलाई
समाजका ईन्द्रेणीहुन भनेर कहिल्यै नहेर्ने उहाँहरुका आँखाले आज
उनीहरुको पीडा र व्यथा देखे जस्तै गरेर
नथाकी फलाकी रहनु भएको छ, उनीहरुकै अगाडि
मजाकको पनि त हद हुन्छ नि
मान्छेलाई मान्छे जस्तो नदेख्ने उहाँहरु
आज शीर झुकाएर एउटा गजबको नाटक मञ्चन गर्दै हुनुहुन्छ उनीहरुकै सामुन्ने
भोली फेरि उहाँहरुले उनीहरुलाई चिन्नु हुन्न, जान्नु हुन्न र हेर्नु हुन्न
तर, आज सबै ती मान्छेहरुलाई आफ्नै परिवार भन्दै हिड्नु हुदै छ उहाँहरु
ठट्टाको पनि त हद हुन्छ नि !


