
कविता
जी एन शर्मा
सडक होस या चौक
मसानमा होस या बजारमा
एउटा पागल ! एउटा अजराजक पागल !
निरन्तर भन्ने गर्छ— जिन्दाबाद र मुर्दाबाद
जनता जिन्दाबाद— जनबिरोधी मुर्दाबाद
जसले समाजलाई चियाएको छ, पत्रपत्र छामेको छ
डकार्नेहरुको कहानी र रित्ता थालहरुको कथा
जे देख्छ त्यो बोल्छ र लेख्छ
महोदयहरु पगरि गुथाउनु हुन्छ —‘त्यो अराजक हो !
त्यो ,अराजक पागल जस्तै पनि हो
जनताको आवाज बोल्दा
जनताको पक्षमा लेख्दा
जनबिरोधीहरुले प्रदान गर्ने मान र सम्मान पनि उसलाई थाहा छ
प्रलोभनलाई लतारेर घिसार्ने त्यो अराजक पागल
धम्कीलाई धोती संझने गर्छ
पागल भन्छ— न्याय, समानता र स्वतन्त्रता उ अझै खोजीरहेको छ
नारा,गफ र किताबमा आएको समाजवादलाई उसले गिज्याउने गर्छ
मालिकहरु महामालिक बन्ने उनको लुटाहा व्यवस्थाप्रति घोर घृणा गर्छ
र, भन्छ — आफ्ना लागि आफै लड्ने हो
कायरहरु रमिता हेर्छन् र आफैलाई सराप्छन् कर्मको फल भन्दै
मुक्तिका सन्तानहरु शीरमा कफन कसेर मैदानमा उत्रन्छन्
एउटा अराजक पागल
साँच्चैको समाजवादको पक्षमा बोल्ने गर्छ
साँच्चैको सत्यको पक्षमा लेख्ने गर्छ
तर, मालिकहरु उसलाई अराजक पागलको ताजले सम्मान गर्छन्
र, भन्छन— ए त्यो ? अराजक पनि हो अनि पागल जस्तै छ !