कृषि र किसान

केरा खेती गर्ने किसानलाई विशेष अवसर, केराको थाम पनि विक्री

महोत्तरी। महोत्तरीसहितका मिथिला क्षेत्रमा तिहार (दिपावली) मा केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ ।

तिहार पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आर्जनका लागि खास अवसर बनेको हो ।

आइतवार दिपावली पर्वको लक्ष्मीपूजाका लागि एक दिन पहिले शनिवार नै केराका थामको विक्री बढ्ने अनुमान गरिएको छ । महोत्तरीका गाउँर नगर बस्तीमा केराका थाम नै लाखौंको विक्री भएको छ ।

केराका बोट झ्याङमा धेरै गाँजिएपछि झ्याङमा उखेल्नुपर्ने बोट तिहार पर्खेर बसेका किसानले अहिले बोट उखेलेर राम्रो आम्दानी गरेका छन् ।

‘केराको झ्याङ्मा बोट गाँजिएर केही बोट उखेल्नु नै पर्ने थियो’, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका केरा खेती गर्दै आएका किसान ब्रह्मदेव महतोले भने, ‘अन्य बेलामा गाँजिएका बोट उखेल्न, फ्याँक्न थप खर्च लाग्ने थियो, तर दिपावलीमा भने फ्याँकिनुपर्ने बोट राम्रो मूल्यमा विक्री हुने भएकाले गाँजिएका बोट उखेल्न पर्व पर्खेका हौं ।’

एकै दिनमा रू।१५ हजारभन्दा बढीको केराको थाम बेचिएको महतोको भनाइ छ । दिपावली पर्वमा लक्ष्मी पूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीमा केराका थामको माग बढ्ने गरेको छ ।

पर्वमा बनाइने स्वागतद्वारको मूल खाँबा नै केराको थामबाट बनाइने परम्परा भएकाले मिथिला क्षेत्रमा यसको निकै महत्व हुने गरेको छ ।

दिपावली र छठपर्वसमेतमा जिल्लाभरि गत वर्ष केराका घरी र थामसमेत रू.२५ लाखभन्दा बढीको कारोबार भएको जलेश्वर उद्योग बाणिज्य संघका अध्यक्ष कृपाशंकर साह बताउँछन् ।

जिल्लामा पर्व विशेषमा हुने केराको थाम र घरी विक्रीको आकर्षणले यसको खेती गर्ने किसानको संख्या र क्षेत्रफल वर्षेनी बढ्दै गएको छ । अहिले जिल्लामा ३ हजार हेक्टर क्षेत्रफलमा व्यावसायिकरूपमै केरा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालयले बताएको छ ।krishipatrika.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button