
सडक अवरुद्ध भएपछि गण्डकी गाउँपालिका–७ र ८ का किसानको बारी तथा सडकमा कुहिँदै गरेको तरकारी। तस्बिर : गुणबहादुर रोका
गुणबहादुर रोका
सुलीकोट (गोरखा), भदौ २४ गते । गोरखाको गण्डकी गाउँपालिका–७ र ८ का किसानले व्यावसायिक रूपमा लगाएको तरकारी बारीमै कुहिन थालेको छ। भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गसहितका सडक संरचना क्षतिग्रस्त भएपछि उत्पादित तरकारी बजारसम्म पुर्याउन नसक्दा किसान समस्यामा परेका हुन्।
गण्डकी गाउँपालिका–७ का किसान भन्द्रबहादुर चेपाङले लगाएको भेन्टाजस्ता तरकारी बिक्रीका लागि सङ्कलन केन्द्रसम्म जसोतसो पुर्याए पनि त्यहाँबाट फिर्ता ल्याउनुपर्ने बाध्यताका कारण सयौँ किलो तरकारी कुहिएर फाल्नुपरेको बताउनुभयो। उहाँले भेन्टासँगै करेला, लौका, घिरौँलालगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ।
सडक अवरुद्ध भएपछि सङ्कलन केन्द्रमा जम्मा भएको तरकारीसमेत लिन व्यापारीले नमानेपछि किसानले उत्पादन गरेको तरकारी अहिले बारीमै कुहिन थालेको किसानहरूले बताएका छन्।
“यस वर्ष तरकारी राम्रो उत्पादन भएको थियो। बजारमा लैजान पाए आम्दानी हुने आशा थियो। तर बाढीले सडक, पुल गरी सबै बाटो भत्काएपछि टिपेको तरकारी कहाँ लैजाने भन्ने समस्या भयो,” चेपाङले भन्नुभयो, “दिनहुँ बारीमा पाकेको तरकारी कुहिँदै गएको देख्दा निकै दुःख लाग्छ।”
गण्डकी गाउँपालिका–८ की अर्की किसान सिर्जना नेपालले पनि सडक अवरुद्ध हुँदा आफूले लगाएको तरकारी बिक्री गर्न नपाएको बताउनुभयो। उहाँका अनुसार सयौँ रोपनी क्षेत्रफलमा किसानहरूले विभिन्न जातका तरकारी खेती गरेका छन्। तर उत्पादनको समयमा नै सडक सम्पर्क विच्छेद भएपछि एक मौसमको तरकारी खेर जाने अवस्था आएको छ।
बाढीले पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएपछि गोरखाको ग्रामीण क्षेत्रबाट तरकारी तथा अन्य कृषि उपज बाहिरी बजारसम्म पुर्याउन कठिन भएको किसानहरूको भनाइ छ। सडक सञ्चालन नहुँदा स्थानीय सङ्कलन केन्द्रसम्म पुगेको तरकारीसमेत फिर्ता ल्याउनुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।
तरकारी खेतीबाट घरखर्च चलाउँदै आएका किसानका लागि अहिलेको अवस्था थप चिन्ताजनक बनेको छ। उत्पादन बिक्री नभएपछि एकातिर लगानी डुब्ने जोखिम छ भने अर्कोतर्फ आगामी खेतीका लागि आवश्यक खर्च जुटाउनसमेत समस्या हुने किसानहरू बताउँछन्।
किसानहरूले तत्काल सडक सञ्चालनका लागि सम्बन्धि निकायले पहल गर्नुपर्ने तथा क्षतिको मूल्याङ्कन गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। सडक सहज रूपमा सञ्चालनमा आए मात्रै बारीमा पाकेको तरकारी बजारसम्म पु¥याएर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने अवस्था बन्ने उनीहरूको भनाइ छ।
गोरखापत्र अनलाइन



