स्वास्थ्य

बढ्न थाल्यो कोरोना

सरोज ढुङ्गेल
काठमाडौँ । छिमेकी मुलुकमा कोभिड–१९ सङ्क्रमण तीव्र रूपमा बढ्दै गएपछि नेपालमा पनि शून्यमा झरेको कोभिड–१९ का सङ्क्रमित बढ्न थालेका छन् । बिहीबार मात्र १४ जना व्यक्तिलाई कोभिड–१९ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एकै दिन कोभिड–१९ सङ्क्रमित बढेकाले नेपालमा नयाँ भेरियन्ट हो भन्न नमिल्ने बताउनुभयो । उहाँले विगतमा पनि छिमेकी मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढ्ने र विस्तारै नेपालमा भित्रिने गरेको स्मरण गर्दै नेपालमा पनि नयाँ देखिएको भेरियन्ट आउँदैन भन्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको छ । उहाँले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘बीएफ–७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरूमा सर्ने खालको रहेको भन्दै नेपालमा सतर्कता अपनाउन सुझाव दिनुभयो । कोरोना भाइरसको अरू प्रजातिभन्दा ‘बीएफ–७’ नामक भाइरसले धेरै मानिसमा सङ्क्रमण सार्ने भएकाले नेपालमा जनस्वास्थ्यका मापदण्ड अपनाउन सुझाव दिनुभयो ।

‘बीएफ–७’ ले अरू भेरियन्टभन्दा चार गुणा बढी सङ्क्रमण सार्ने गर्दछ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले चीन र भारतमा नयाँ भेरियन्ट फैलिरहेको जानकारी दिँदै नेपालमा उच्च सावधानी अपनाउनुपर्ने बताउनुभयो । अहिलेसम्मको ट्रेन्ड हेर्दा भारत तथा चीनमा कोरोना बढेपछि नेपालमा देखिने गरेको छ, डा. पुनले भन्नुभयो, “कोरोनाले केही गर्दैन भन्ने भ्रममा पर्नुहुँदैन ।”

नेपालमा पहिलो चरणमा पुष्टि भएको कोरोनाले खासै असर नगरे पनि दोस्रो भेरियन्टमा ठूलो क्षति गरेको उहाँले बताउनुभयो । “नेपालमा नयाँ भेरियन्ट देखिँदैन भन्न सकिँदैन, त्यसैले अहिलेदेखि नै सतर्कता अपनाउनुपर्छ ।”गोरखापत्र

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button