खबर

पौने २ करोडसहित पक्राउ परेका २५ जुवाडेलाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं- महाराजगञ्जबाट शनिबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका २५ जना जुवाडेलाई ७ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले अनुसन्धानका लागि उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालय, काठमाडौं पेस गरेको थियो। उनीहरुमाथि अनुसन्धानका लागि प्रहरीले १५ दिनको समय मागेको थियो। जिप्रकाले उनीहरुलाई पहिलो पटक अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको हो।

तिहारको समयमा महाराजगञ्जको एक घरमा जुवा खेलिरहेका बेला २ करोड ६७ लाख रुपैयाँ नगद, बैंक अफ काठमाण्डुको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससहित उनीहरु पक्राउ परेका थिए।अभियुक्तहरुले प्रहरीले आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। पक्राउ परेका ‘क्यासिनो किङ’का रुपमा चिनिने बलराम सापकोटा उर्फ ‘बले’, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामाले सर्वोच्चमा प्रहरीविरुद्ध रिट दायर गरेका थिए।

तर, आइतबार, सोमबार र बुधबार बेग्लाबेग्लै निवेदन परेपछि बुधबार अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीले सबै निवेदनलाई साथमै राख्न आदेश दिएका थिए। उनीहरुलाई बिहीबार मात्रै प्रहरीले सर्वोच्चमा उपस्थित गराउने बताएको छ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट चलिरहेको समयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनीहरुलाई थुनामा राख्ने अनुमति लिइएको हो।नेपाल लाइभ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button