झापा / सरकारले भारतबाट पंक्षी तथा पंक्षीजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।
तर, सीमावर्ती क्षेत्र भारतबाट पंक्षी र पंक्षीजन्य वस्तु नेपाल भित्रिने क्रम भने रोकिएको छैन । त्यस्ता प्रतिबन्धित वस्तु आयात नियन्त्रणमा कडाई नगरिँदा संलग्न तस्करलाई सहज बनेको हो ।
भारतसँग सीमा जोडिएका झापाका विभिन्न नाकाबाट ज्यूँदा कुखुरा, कुखुराको तयारी मासु र काटिएका मासु खुलेआम रुपमा भित्रिरहँदा समेत नियमनकारी निकायले नियन्त्रणलाई प्रभावकारी बनाउन सकिरहेका छैनन् ।
नेपाल–भारत सीमा नाकाबाटै अवैध रुपमा कुखुराको खुलेआम आयात हुनथालेपछि एकातिर संक्रामक रोगको जोखिम बढेको छ भने अर्कोतर्फ नेपाली किसान र व्यवसायी पलायन हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।
अवैध आयातलाई पूर्णरुपमा नियन्त्रण गर्न सम्बन्धित निकायले निर्णय गरेको छ । तर, त्यसको कार्यान्वयन पक्ष फितलो बन्दा सरकारको कार्यशैलीप्रति कृषकहरुले असन्तुष्टि प्रकट गर्दै आएका छन् । कानूनले पंक्षी तथा पंक्षीजन्य वस्तु भारतबाट ल्याउन नपाइने व्यवस्था गरेको छ । तर, नीति नियम व्यवहारमा लागू नभएका उदाहरण प्रशस्त छन् ।
भारतबाट दिनहुँजसो ब्रोइलर कुखुराको मासु संगठित रुपमा नेपालतर्फ तस्करी हुँदै आएको स्रोतले दाबी गरिरहँदा बिहीबार मेची पुलबाट करिब ३५ केजी तयारी मासु पक्राउ गरिएको छ ।
विशेष सूचनाका आधारमा बिहीबार बिहान मेची पुल पुगेको जिल्ला कुखुरा व्यवसायी संघको टोलीले ३ जना महिलाले तयारी मासु(होल चिकन) ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो ।
‘कुखुरा, तयारी मासु र काटिएका मासु संस्थागत रुपमा तस्करी हुन्छ भन्ने सुन्दै आएका छौं’ संघका एक सदस्यले भने–‘खबर पाएपछि पुग्दा मासुसहित आयातमा संलग्न महिलालाई फेला पार्न सफल भयौं र पशु क्वारेन्टाइन कार्यालयमा बुझायौं ।’
नेपालमा भन्दा भारतमा मासुको मूल्य केही सस्तो पर्ने भएकाले भारतबाट सवारी साधनमा लोड गरी ल्याइएका ज्यूँदा कुखुरा, तयारी मासु र काटिएका मासु सीमा क्षेत्रका विभिन्न गाउँबस्तीमा अनलोड हुने गरेको स्रोतको दाबी छ ।
‘मासुको अवैध आयातमा संलग्न एकजना भारतीय र २ जना नेपाली महिलालाई आइन्दा नल्याउने शर्तमा कागज गरेर एकपटकका लागि छोडेका छौं’ पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका पशु चिकित्सक मुकेशकुमार सिंहले भने–‘कानूनमै त्यहि उल्लेख छ, फेरी सोही व्यक्ति पक्राउ परे मुद्धा चलाएर आवश्यक कार्वाही प्रक्रिया अघि बढाउँछौं ।’
‘खुल्ला सीमा नै पूर्ण नियन्त्रणका लागि चुनौतिपूर्ण बनेको छ, प्रहरी प्रशासन र सम्बद्ध पक्षबाट भरपुर सहयोग भए नियन्त्रण प्रभावकारी बन्छ, प्रहरी, सशस्त्र प्रहरी, कुखुरा व्यवसायीलगायतसँग समन्वय गरेर काम गर्दै आएका छौं’–उनले भने ।
मेची अञ्चलस्तरीय सो कार्यालयले झापाका सीमा नाकाहरु काँकरभिट्टा, भद्रपुर र गौरीगञ्ज, इलामको पशुपतिनगर र ताप्लेजुङको ओलाङचुङगोलामा चेकपोस्ट कार्यालय स्थापना गरी अवैध आयात निरुत्साहित गर्दै आएको सिंहले बताए ।
त्यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी गोविन्दकुमार कार्कीले अवैध प्रतिबन्धित वस्तुको आयात रोक्न प्रहरीले कुनै कसर बाँकी नराखेको दाबी गरेका छन् ।
‘बुधबार मात्रै हामीले बाहुनडाँगीबाट अवैधरुपमा भित्र्याइएका १८ वटा कुखुरा नियन्त्रणमा लियौं’ उनले भने–‘क्वारेन्टाइनलाई बुझाएका छौं, नियन्त्रणमा हाम्रो पूर्ण सहयोग हुँदै आएको छ, भेट्यौं भने छाड्दैनौं, तर, मुख्य दायित्व क्वारेन्टाइनकै हो ।’
अवैध आयात नरोकिँदा लाखौं रुपैयाँ लगानी गरी कुखुरा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीको रकम संकटमा पर्ने खतरा बढेको छ । पछिल्लोसमय झापासहित पूर्वी नेपालका अधिकाँश जिल्लामा व्यवसायीक रुपमा कुखुरा पाल्ने किसानको संख्या बढ्दै गएको छ ।
सो व्यवसायबाट एकातर्फ युवा विदेशिने क्रम केही घटेको छ भने अर्कोतर्फ हजारौं युवा स्वदेशमै आत्मनिर्भर बनेका छन् । कुखुरापालन व्यवसाय बढेका कारण मासुले स्थानीय बजारको माग समेत धान्दै आएको छ । जसबाट मासु खरिदका लागि बाहिरिँदै आएको ठूलो धनराशी जोगिएको छ ।
जिल्ला कुखुरा व्यवसायी संघ, झापाका सचिव बोधराज निरौलाले नेपाल–भारत खुल्ला सीमानाको अवैध फाइदा उठाउँदै ब्रोइलर कुखुरा, तयारी मासु, ज्यूँदो कुखुरा अत्यधिक रुपमा नेपाल भित्रिरहेको दाबी गरे ।
कुखुराको अवैध आयात पूर्ण रुपमा निरुत्साहित गर्न हामीले पटक–पटक राज्यका निकायलाई घच्घच्याएका छौं’ उनले भने–‘तर, यो गतिविधि बारम्बार दोहोरिरहेको छ, वर्षौंदेखि भइरहेको छ, कहिले रोकिने हो ?’
सरकारले प्रतिबन्ध गरेका वस्तु धमाधम भित्रिईरहँदा रोग आउने खतरा बढेको भन्दै निरौला भन्छन्–‘राज्यको आयमा प्रत्यक्ष योगदान गर्ने पोल्ट्रि निकायलाई नै राज्यले बेवास्ता गरेको छ, भारतीय कुखुराका कारण नेपाली किसान विस्थापित भएर विदेश पलायन हुने अवस्था आएको छ, हाम्रो समस्या कहिले सुनुवाई हुन्छ ?’ janasasamdonline



