कृषि र किसान

हिउँदे धानबालीमा फड्के कीराको संक्रमण

विमर्श उप्रेती

झापा / भित्र्याउने बेलाको बर्खे धानबालीमा फड्के कीरा(ब्राउन होपर) ले आक्रमण गरेपछि झापाका कृषक चिन्तित बनेका छन् ।

बाली लगाएदेखि नै एकपछि अर्को रोगले गाँज्न थालेपछि धान उत्पादक किसान संकटमा परेका हुन् । पछिल्लोसमय जिल्लाका अधिकाँश कृषकको धानबालीमा फड्के रोगको संक्रमण फैलिएको छ । यसअघि धानबालीमा फौजी कीरा, शिट ब्लाइट, नेक ब्लाष्टलगायत रोगको प्रकोप देखापरेको थियो ।

त्यसपछि बाली पाकेर काट्नेबेला भएको धानमा फड्केले आक्रमण सुरु गर्दा कृषक थप चिन्तामा परेका हुन् । सो रोग फैलिएपछि धान डढेर खेतमै सोत्तर भएको कृषकहरुको गुनासो छ । बालीमाथि विभिन्न रोगले लगातार आक्रमण गरिरहँदा यसवर्ष धान उत्पादन घट्ने बाहुनडाँगीका अगुवा कृषक पूर्णबहादुर खड्का बताउँछन् ।

‘बाली पाकेर थन्क्याउनेबेला भयो तर, सबै खेतमै डढ्यो, यसवर्ष धेरै कृषक मारमा परे’ खड्का भन्छन्–‘पहिलोचोटी यो रोग थाहा पाउँदैछु, बाली सखापै पार्र्यो ।’

उनका अनुसार झण्डै २ साताअघिदेखि मेचीनगर २ बाहुनडाँगीका सुवास भारती, आभाष तामाङलगायत अधिकाँश कृषकको धानबालीमा फड्केको संक्रमण फैलिएको छ ।

मेचीनगर १, २ र ३ मा लगाइएको धानबाली पाक्न थालेसँगै फड्केको असर सुरु भएको जानकारी गराउँदै उनले भारतीको १ बिगाहमा ४० मन र तामाङको ८ कठ्ठामा करिब १५ प्रतिशत धान नोक्सान भएको बताए ।

‘एक बिगाहा माटोमा रञ्जीतको घरायसी बीउ रोपेको थिएँ, यसवर्ष ५ प्रतिशत नोक्सान हुने भो’ खड्काले भने–‘एक बिगाहमा वर्षेनी झण्डै ७० मन हिउँदे धान फल्थ्यो ।’

‘संक्रमणबाट बाली जोगाउन सुरुमै बीउको उपचार गरेर रोप्ने चलन छ’ बाहुनडाँगीका पशु प्राविधिक डेनु मगर भन्छन्–‘पाक्न थालेको बालीमा विषादी छिट्न मिल्दैन, छिट्दा विषको अवशेष अन्नमा रहन्छ, प्रकोप लाग्नु अगाडि नै उपचार गर्नुपर्छ ।

फड्के कीराको प्रकोप जिल्लाभर रहेको बताउँदै कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख शेषराज पौड्यालले भने–‘केही स्थानीय तहबाट फड्केले पारेको असर बारे जानकारी आएको छ ।’

फड्के सरुवा रोग भएकाले बेलैमा काबुमा ल्याउन नसकिए क्षति अझै बढ्नसक्ने बताउँदै उनी भन्छन्–‘महामारीको रुप लिन सक्छ, उपचार थालिहाल्नुपर्छ ।’

कृषि ज्ञान केन्द्र झापाका अनुसार मेचीनगर, भद्रपुर र दमक नगरपालिका, हल्दिबारी, कमललगायत अन्य गाउँपालिकामा फड्केले असर गरेको छ । यसवर्ष झापामा ८७ हजार ५ सय हेक्टर जमिनमा धान खेती भएको केन्द्रले जनाएको छ ।

मेचीनगर नगरपालिका अन्र्तगत कृषि शाखाको एक टोलीले एक साताअघि बौद्धमोड क्षेत्रका छविलाल गौतम, डिल्लीराम दाहाल, लक्ष्मी गौतम, भीमबहादुर विष्ट, भवानी अधिकारीलगायतको धानबालीमा परेको असर बारे जानकारी लिएको थियो ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button