स्वास्थ्य

अस्पतालका दुई हजार शय्या निःशुल्क

काठमाडौं। सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियानले सफलता पाइरहेको छ। सरकारले विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शय्या दुई हजार २८ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि अस्पतालको १० प्रतिशत शय्या निःशुल्क उपचार हुने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई निर्देशन दिएको थियो।

मन्त्रालयले बुधबार उपत्यकाका गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूतिगृह, कान्ति बाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि विपन्नका लागि निःशुल्क शय्या व्यवस्था गर्ने निर्णय गरेको छ। कान्ति बाल अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४५०, ट्रमा सेन्टरले १५०, सहिद गङ्गालाल हृदय केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरिएको हो।

यसअघि सात सय शय्या वीरमा र ३३० शय्या विराटनगरस्थित कोशी अस्पताले निःशुल्क गर्ने निर्णय भएको थियो। योसँगै अब विपन्नका लागि विभिन्न अस्पतालमा निःशुल्क घोषणा गरिएको शय्या सङ्ख्या दुई हजार २८ पुगेको छ। मन्त्रालयका अनुसार बिस्तारै अन्य केन्द्रीय अस्पतालमा पनि विपन्नका लागि निःशुल्क शय्या थपिँदै जाने छन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय स्तरका सरकारी अस्पतालमा विपन्न परिवारलाई निःशुल्क उपचार गर्ने व्यवस्थालाई तीव्रता दिने बताए। उनले यस अभियान अन्तर्गत छ वटा सङ्घीय अस्पतालका ती शय्यामा रहेर उपचार गर्दा अन्य कुनै शुल्क नलाग्ने जानकारी र्दिए।

उनले वीर अस्पतालबाट सात सय शय्या निःशुल्क विपन्न परिवारको उपचारका लागि छुट्याएकोमा त्यसलाई निरन्तरता दिँदै जाने उल्लेख गरेको  गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button