कृषि र किसान

पूर्णबहादुरले फलाए बेमौसमी टमाटर

विमर्श उप्रेती

बाहुनडाँगी / वर्षेनी मौसमी र बेमौसमी फूलकोबी र टमाटरको व्यवसायीक खेती गर्दै आएका पूर्णबहादुर खड्काले यसवर्ष पनि बेमौसमी टमाटर फलाएका छन् ।

मेचीनगर–२ बौद्धमोडका उनले ७ कठ्ठा जग्गामा अलराउण्डर जातका टमाटरका २५ सयवटा बिरुवा रोपेका थिए । रोपिएका ती बोटमा चिचिल्ला लाग्न सुरु गरेको खड्काले बताए ।

‘जोखिम त पहिल्यैदेखिनै मोलेकै हुँ, अहिलेसम्म ठूलो क्षती ब्यहोर्नुपरेको छैन, आँत्तिएर नगर्ने कुरा पनि भएन’ बेमौसमी उत्पादनमा जोखिम हुँदैन ? भन्ने जिज्ञासामा उनले भने–‘परम्परागत धान खेती गर्दै आएका कृषक भरसक बेमौसमी उत्पादनमा बल गर्दैनन् ।’

हुन्छ कि हुँदैन, लगानी पो डुब्ने हो कि भन्ने चिन्ताले अधिकाँश कृषकले बैमौसमी खेतीमा हात नहाल्ने गरेका बताउँदै खड्काले अरुले गरेको खेती सफल भएमात्र सुरु गर्ने चलन रहेको बताउँछन् ।

‘नजिकैको उषा एग्रोभेटबाट बीउ खरिद गरेँ, भदौ १२ गते ब्याड बनाएर दल राखेँ, उम्रिएर हुर्केपछि असोज १६ गते बिरुवा सारेँ’ उनी भन्छन्–‘अलि अगाडिनै सार्नुपथ्र्यो, पानीले गर्दा सार्न केही ढिलो भो ।’

४ वटा गरा र एउटा खुट्टीमा फल्दै गरेको अग्र्यानिक टमाटर यही मंसीरको पहिलो साताबाट पाक्न थाल्ने मेचीनगर मूल कृषक समूहका अध्यक्ष समेत रहेका खड्का बताउँछन् ।

‘एउटा झुप्पोमा १४ वटाजति चिचिल्ला लागेको छ, एउटा बोट बराबर ५ केजी टमाटर फल्ने अनुमान गरेको छु’ उनी भन्छन्–‘अफसिजनका टमाटर कम्तिमा अढाई लाख रुपैयाँको उत्पादन हुने अपेक्षा छ ।’

‘बिरुवामा बाख्राको जुत्तो र गाईबस्तुको गोबर मल धेरै प्रयोग गरेको छु, रासायनिक मल थोरै हालेँ’ उनले भने–‘प्राङ्गारिकले मात्र हाईब्रिडलाई खाद्यतत्व पूरा गर्दैन, केही मात्रामा भएपनि रासायनिक चाहिन्छ, त्यहीभर हालेको हुँ ।’

खेती थाल्नुअघि माटो तयार पार्न ट्रयाक्टरले खनजोत गर्न, ब्याड बनाउन, बीउ खरिद, बीउ छर्न, बिरुवा सार्न र रोप्न ४० जना खेताला लगाउनुपरेको पूर्णबहादुरले सुनाए ।

‘अहिलेसम्म झण्डै ८० हजार रुपैयाँ खर्च भइसक्यो, आफू बाहेक जन लगाउँदा यति खर्च भयो, खेतालामै लगानी धेरै पर्छ, अरुमा त सामान्य खर्च हुन्छ’ उनले थपे–‘खेती उठाउँदा अरु सयजना खेताला चाहिन्छ, फङगसको स्प्रे गर्न, बाँध्न, टिप्न, त्यसपछि ओसार्न, ग्रेडिङ्ग गर्न त बाँकीनै छ ।’

टमाटरको बीउ छर्ने सिजन भर्खर सुरु हुँदैछ । तर, सिजन अगाडिनै अफसिजनमा उ्रत्पादीत टमाटर बेच्ने सोचमा छन् बाहुनडाँगीका अगुवा कृषक खड्का । ‘यही मंसीरबाटै बिक्री सुरु हुन्छ’ उनी भन्छन्–‘बिर्तामोडको कृषिथोक बजारलाई थोक मूल्यमा बेच्दै आएको छु ।’

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर अग्र्यानिक उत्पादनमा जोड दिँदै आएका पूर्णबहादुर बेमौसमका सबै कृषिजन्य उत्पादन विषादीयुक्त नहुने दावी गर्छन् ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button