स्वास्थ्य

मेडिकल कलेजलाई कारबाही गरिँदै

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगीअन्तर्गत मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार पत्र पठाएको छ । गत असोज २८ गते मन्त्रिपरिषद्ले त्यस्ता मेडिकल कलेजलाई १५ दिने समयावधि दिँदै शुल्क फिर्ता नगरेमा कारबाही गर्ने भनी निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयलाई औपचारिक पत्र पठाइएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बढी शुल्क उठाउने मेडिकल कलेजलाई सरकारले अन्तिमपटक पुनः आग्रह गरेको बताउँदै भन्नुभयो, “गृह मन्त्रालयलाई पत्र पठाएका छौँ । अभिभावक तथा विद्यार्थीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिनुपर्छ । उजुरी परेका मेडिकल कलेज सञ्चालकलाई ठगीअन्तर्गत मुद्दा चलाइने छ ।”
उहाँले तालाचाबी बुझाउने भनेर मेडिकल कलेजका सञ्चालकहरूले धम्की नदिँदा हुन्छ भन्दै त्यो भनेर उम्किन पाउँछु भनी सञ्चालकहरूले नसोच्दा पनि हुन्छ भन्नुभयो । उहाँले चालू शैक्षिक सत्रका लागि सरकारी मेडिकल कलेजहरूमा ७५ प्रतिशत छात्रवृत्ति र निजी मेडिकल कलेजहरूमा साविक बमोजिमकै १० प्रतिशत तथा २० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन विद्यार्थी छनोटका कार्यहरू प्रक्रियामा रहेको जानकारी दिनुभयो ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button