कृषि र किसान

कृषि र पर्यटन प्रवद्र्धनका लागि तेस्रो अन्तर्राष्ट्रिय महोत्सव हुँदै

विमर्श उप्रेती

धुलाबारी / पर्यटन भ्रमण वर्ष–२०२० लाई सार्थक तुल्याउने उद्देश्यले आगामी पुस ९ गतेदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु हुने भएको छ ।

आयोजक मेची उद्योग वाणिज्य संघले बुधबार धुलाबारीमा पत्रकार सम्मेलन गरी पुस १६ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीका बारेमा सार्वजनिक गरेको हो ।

कुनैबेला पूर्वको हङकङ मार्केटको रुपमा प्रख्यात धुलाबारी बजार पछिल्लोसमय व्यवसायीक प्रर्वद्धन खस्किँदै गएको छ । खस्किँदो अवस्थालाई प्रवद्र्धन गर्न समेत यो महोत्सवले सहयोगी भूमिका निर्वाह गर्ने संघका अध्यक्ष ऋषिराज तिम्सिनाले सम्मेलनमार्फत सार्वजनिक गरेका छन् ।

नेपालमा भित्रिएका र भित्रिने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै छानामुनी अवलोकन गराउने उद्देश्यले धुलाबारी विजनेस पार्क परिसरमा महोत्सव सञ्चालन गरिने संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए ।

नेपाललगायत छिमेकी राष्ट्रहरुका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा सहभागी गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकनसहित जानकारी गराउनु महोत्सवको मुख्य विशेषता हुने जनाइएको छ ।

उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने मूल लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका, विदेशी वस्तुहरु र पहाडी जिल्लाका कृषिजन्य र अन्य उत्पादनका समेत गरी करिब २ सयवटा स्टलहरु रहने संघका अध्यक्ष तिम्सिनाले बताए ।

‘यो महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँको कारोवार हुने हाम्रो अनुमान छ’ अध्यक्ष तिम्सिनाले भने–‘महोत्सवस्थलले झण्डै २२ हजार वर्ग मिटर क्षेत्रफल ओगट्छ ।’

सम्मेलनका क्रममा महोत्सव आयोजक समितिका संयोजक भूमि पौडेलले ९ दिवशीय महोत्सवलाई प्रदर्शनी र विक्री कक्ष, साँस्कृतिक तथा साँगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी चार भागमा विभाजन गरिएको जानकारी गराए ।

उनका अनुसार प्रदर्शनी कक्षमा छुट्टा–छुट्टै परिसर निर्माण गरी अटो मोवाइल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामाग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाकसँगै जुत्ताचप्पलका स्टलहरु रहनेछन् ।

व्यापार व्यवसाय सहजीकरणका लागि गोष्ठी तथा सेमिनारहरु सञ्चालन गरिने मेलामा बंगलादेश, पाकिस्तान, भारत र भूटानका प्रदर्शकहरुको समेत सहभागिता रहने प्रचार–प्रसार उप समिति संयोजक सन्दीप ओलीले बताए । अक्टोनोर्म प्रविधिबाट विशिष्ट प्रकारका स्टलहरु निर्माण गरिने मेलामा कलाकृतियुक्त मूल प्रवेशद्वार निर्माण गरिने र महोत्सव परिसरभित्र आकर्षक सेल्फी जोनको समेत व्यवस्था गरिने उनले जानकारी गराए ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने महोत्सवमा विभिन्न जात–जातिहरुका साँस्कृतिक पहिचानसहितका कार्यक्रम हुने आयोजकले जनाएको छ । सो अवसरमा विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय, स्थानीय साँगीतिक व्याण्डले समेत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।

स्टल व्यवस्थापन उपसमिति संयोजक राजुकुमार पोद्दारका अनुसार बालउद्यान क्षेत्रमा विभिन्न साहसीक तथा मनोरञ्जनात्मक खेल तमासाहरु रहने छन् । खानपान क्षेत्रमा शाकाहारी र मांसाहारी खाद्य परिकारका छुट्टा छुट्टै स्टल राखिने उनले बताए । महोत्सवस्थलमा मिडिया सेन्टर, फ्रि वाइफाइ जोन, प्राथमिक उपचार र शौचालय, खानेपानी तथा महोत्सवस्थल बाहिर पार्किङ्गको प्रबन्ध गरिने सम्मेलनमा अवगत गराइयो ।

त्यस्तै, महोत्सवको प्रचार–प्रसारका लागि आयोजकले माइकिंग, लिफ्लेट, क्रस तथा पोलब्यानर, होडिङ्ग बोर्ड र स्वागतद्वारको निर्माण कार्य सुरु गर्न लागिएको जनाएको छ । सुरक्षा व्यवस्था चुस्त दुरुस्त र प्रभावकारी बनाउन महोत्सव परिसरलाई चौबिसै घण्टा सिसिटिभिको निगरानीमा राखिने सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महोत्सवस्थलको सुरक्षा प्रबन्ध दर्विलो बनाउन सुरक्षा निकायसँग समन्वय गरी सुरक्षाकर्मी परिचालन गरिने र प्रत्येक स्टलका लागि बीमासहित स्टलमा अग्नी नियन्त्रक यन्त्र राखेर दमकललगायत एम्बुलेन्सको व्यवस्था गरिने विज्ञप्तिमा जनाइएको छ ।

आयोजकले नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश उद्योग वाणिज्य महासंघ, मेचीनगर नगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय, झापा जिल्लाका स्थानीय तहलगायतसँग सहकार्य गरी महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्ने योजना अघि सारेको छ ।

पर्यटन भ्रमण वर्ष–सन् २०२० लाई समेत लक्षित गरी आयोजना गर्न लागिएको महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजकले उद्योगपति, व्यापारी, स्थानीय निकाय, राजनीतिक दल, सुरक्षा निकायलगायत सबै पक्षसँग अपिल समेत गरेको छ ।

यसैबीच, संघले २०६० सालमा प्रथम पूर्वाञ्चल औद्योगिक व्यापार मेला र २०७० सालमा दोस्रो पूर्वाञ्चल औद्योगिक व्यापार मेला आयोजना गरेको थियो । २०६० सालको महोत्सवमा नेपाल, बंगलादेश, भारत, चीन र पाकिस्तानका प्रदर्शकहरुका १ सय ६० वटा स्टल रहेका थिए । सो महोत्सवमा ६५ हजार दर्शकले अवलोकन गरेका र ३ करोड रुपैयाँको कारोवार भएको संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले बताए ।

त्यस्तै, २०७० सालको महोत्सवमा नेपाल, बंगलादेश र भारतका प्रदर्शकहरुका १ सय ९० वटा स्टल रहेका थिए । संघका वाणिज्य उपाध्यक्ष कल्याण खड्काका अनुसार महोत्सवमा ८० हजार दर्शकले अवलोकन गरेका र ४ करोड रुपैयाँको कारोवार भएको थियोे ।

पत्रकार सम्मेलनमा संघका महिला उपाध्यक्ष बिना तामाङ, सदस्यहरु झुनादेवी बानियाँ, विपेन्द्र लामा, अञ्जु थापालगायत गठित विभिन्न उपसमितिका सदस्यहरुको उपस्थिति थियो ।

संघका अध्यक्ष ऋषिराज तिम्सिनाको अध्यक्षतामा संघको सभा कक्षमा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन महासचिव ध्रुव कनालले गरेका थिए।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button