खबर

पर्यटकीय स्थलमा लगानीकर्ताको आकर्षण

सुजन तिम्सिना

इलाम / इलामका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणले प्राथमिकता पाएपछि जग्गा खरिद गर्ने पर्यटन व्यवसायीको संख्यामा वृद्धि भएको छ । सडक, पर्यटकीय मार्ग, खानेपानी र पार्क निर्माणले तिब्रता पाएपछि जग्गाको भाउपनि ४ सय प्रतिशतले वृद्धि आएको हो ।
सरकारले सीमा क्षेत्रका पर्यटकीयस्थल जोड्न सडक र पर्यटन पूर्वाधार निर्माणमा प्राथमिकता दिएपछि लगानीकर्ताको आकर्षण बढेको हो । नेपाली पर्यटकहरुले पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्दै तीनै तहका सरकारले पूर्वाधार निर्माण गरेपछि पर्यटन क्षेत्रका ठुला लगानीकर्ताले जग्गा खरिद थालेको स्थानीयबासीले बताएका छन् ।
सीमावर्ती पशुपनिगरबाट ताप्लेजुङ्गको कञ्चनजंघा जोड्ने पदमार्ग र सडक संघीय र प्रदेश सरकारको लगानीमा निर्माण थालिएपछि होटल, लज र रेष्टुरा व्यवसायीले जग्गा खरिद गर्दै आएका छन् । सीमावर्ती मानेभञ्ज्याङ्गदेखि सन्दकपुरसम्मका एक दर्जन पर्यटकीयस्थलमा जग्गा खरिद गर्ने व्यवसायीको टोली दैनिक पुग्ने गरेको छ । जग्गा किन्न चाहने पर्यटन व्यवसायीको संख्या धेरै भएपछि जग्गाको भाउ ४ सय प्रतिशतले बढको माई जोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए ।
इलामको उत्तरी सन्दकपुर पर्यटकीय क्षेत्रलाई संघीय सरकारले प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य घोषणा गरि पूर्वाधार निर्माण गरिरहेको छ ।
त्यस्तै सूर्योदय नगरपालिका प्रदेश सरकारबाट पर्यटकीय नगर घोषित नगर हो । इलामको माईजोगमाई, सन्दकपुर र सूर्योदय नगर क्षेत्रका पर्यटकीयस्थलमा पर्यटकीय मार्ग, सडक, खानेपानी, पर्यटकीय पार्क निर्माणका लागि तीनै तहका सरकारले लगानी गरिरहेका छन् । सन्दकपुर गाउँपालिकको सन्दकपुर पर्यटकीय क्षेत्र प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य घोषणा भएपछि पर्यटन व्यवसायीको आकर्षण समेत बढेको हो । भारतबाट तेस्रो मुलुकका पर्यटक पुग्ने गरेको क्षेत्रमा नेपाल तर्फबाट पनि सडक पूर्वाधार निर्माणको कामले तिब्रतापाएपछि पर्यटन व्यवसायी जग्गा खरिद गरि होटल र लज निर्माण गर्ने योजनामा नेपालकै पुराना पर्यटन व्यवसायी आकर्षित भएको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।
सन्दकपुर पर्यटकीय क्षेत्रमा एक सांस्कृतिक ग्राम अन्तर्गत २० वर्षे पर्यटन विकासका योजना संघीय सरकारले कार्यान्वयन गर्दै आएको छ । पर्यटकका लागि आवश्यक पदमार्ग निर्माण गर्दै आएको संघिय सरकारले सडक कालोपत्रे निर्माणको कामलाई प्राथमिकता दिएपछि लगानीकर्ताले जग्गा खोजि गर्दै आएको गाउँपालिका अध्यक्ष उदय बहादूर राईले बताए ।
प्रदेश नम्बर एकको पर्यटकीय नगरि घोषित सूर्योदय नगरपालिका क्षेत्रमा होटल व्यवसाय गर्ने नयाँ लगानीकर्ताहरु आउने क्रम बढेको छ । घामको पहिलो झुल्को हेरिने अन्तु, चिया रोपणको इतिहास बोकेको कन्याम चिया बगान, लाप्चा जातिको इतिहास रहेको फिक्कल र सीमावर्ती पशुपतिनगरमा जग्गा खरिद गर्ने क्रम बढेको सूर्योदय नगर उद्योग बाणिज्य संघका सदस्य सुजन तिम्सिनाले बताए । सूर्योदय नगरपालिकाको अन्तु र कन्याम क्षेत्रमा बढी होटल व्यवसाय गर्ने लगानीकर्ताले जग्गा खरिद गरेको छ । यी क्षेत्रमा १० करोड लगानीका होटल पनि सञ्चालनमा रहेका छन् ।
जिल्लाकै उत्तरी माईजागमाई गाउँपालिकाको जौबारी, तुम्लि, मेघमा, थुम्के डाँडा पर्यटकीय क्षेत्रमा जग्गा खरिद बिक्री बढेको स्थानीय सञ्जिव थामीले बताए । हिमाली दृश्य देख्न सकिने यो क्षेत्रमा भारतीय होटल व्यवसायीले पनि व्यवसाय संचालनमा लगानीको तयारी गरेका छन् । यी पर्यटकीय क्षेत्रमा प्रदेश सरकारबाट सडक कालोपत्रे गर्ने, पार्क निर्माण, भ्यु टावर निर्माण र पदमार्ग निर्माणमा प्राथमिकता दिएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button