
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गर्ने ग्राहकलाई छुट बिलिङ गरिएको विद्युत खपतको महसुल ६० किस्तासम्ममा किस्ताबन्दीमा तिर्न सक्ने व्यवस्था गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्था बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिना महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था गरिएको जानकारी दिनुभयो।
प्राधिकरणले बिगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइन (एक सवस्टेसनबाट अर्को सवस्टेशन जोड्ने लाइन)बाट विद्युत आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकलाई प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि पटक–पटक ताकेता गरेको थियो ।
ताकेता र अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि विद्युत लाइन बिच्छेद गर्न सुरु गरेको थियो । आमसर्वसाधारण उपभोक्ताले बिगतमा दैनिकरूपमा १७/१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेका बेला दुई सय ३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए । दुई सय ३९ ग्राहकमध्ये एक सय ७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइनबापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका प्राधिकरणले जनाएको छ ।
डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेको कुल ६१ ग्राहकको २०८० मंसिरसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ छ । जसमध्ये पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिएको छ । बक्यौता रहेका अन्य उद्योगको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरणको छ ।
पहिलो किस्ता तिरेपछि हिमालको लाइन जोडियो
बारा-पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टिलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपतबापतको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ । आठ करोड १२ लाख बक्यौतामध्ये हिमालले सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो । उपकार्यकारी निर्देशक सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार साठी लाइन जोडिएको बताउनुभयोे । उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्नेछ ।हिमालय टाइम्स



