फिल्मीखबर, काठमाण्डौ,
कुनै समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता हुन्, भुवन केसी । लभस्टोरी फिल्ममा निकै रुचाइएका यी अभिनेताले एकसेएक उम्दा फिल्म दिएका छन् । करिअरको टर्निङ पोइन्ट साबित भएको फिल्म ‘कुसुमे रुमाल’ पछि सफलताको उत्कर्षमा पुगेका उनका निकै कम फिल्म बक्सअफिसमा असफल छन् । सबैभन्दा धेरै हिट फिल्म दिने अभिनेतामा अझै पनि उनको नाम अगाडि आउँछ ।
तर, समय सधैं एकनाश कहाँ हुन्छ र ! डेढ दशक अगाडि उनको टाउको पोस्टरमा राखेको भरमा निर्माताले बोराका बोरा पैसा बटुल्थे । प्रायः फिल्मले प्रदर्शन अगावै लगानी उठाउथे । अहिले उनी अभिनीत फिल्मप्रति दर्शकमा कुनै चासो नरहेको शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर नेपाली’ को व्यापारले नै छर्लङ्ग पार्छ । उनले करीब ७ वर्ष अभिनयमा कमब्याक गरेको फिल्म हो यो ।
छोरा अनमोल केसीको करिअर बनाउन लामो समय अभिनयबाट दूरी बनाएका उनले छोराको करिअर त बनाए, तर आफ्नो क्रेज बचाइराख्न सकेनन् । ‘मिस्टर नेपाली’ यस वर्षको सबैभन्दा ठूलो डिजास्टर साबित भएको छ । फिल्मले सडकका भित्तामा टााँसिएको पोस्टरको पैसा उठाउन पनि गाह्रो छ । भुवनको नामले फिल्मको इनिसियल व्यापार गतिलो हुने विश्वास निर्माण टिमलाई थियो ।
तर, हलमा भुवनको नामले दर्शक तानेको छैन । हुन त, हलमा दर्शक तान्न फिल्म आफैंमा बलियो हुनुपर्छ । फिल्म नै नराम्रो छ भने जति नै ठूलो स्टार भए पनि महँगो टिकट काटेर दर्शक हल पुग्नेवाला छैनन् । यसमा दुईमत नहोला कि ‘मिस्टर नेपाली’ कमजोर ‘कन्टेन्ट’ कै कारण बक्सअफिसमा थला परेको हो । यद्यपि, फिल्म हेर्नेले अभिनेता साहिल श्रेष्ठको अभिनयलाई रुचाएका छन् ।
फिल्ममा अभिनेता भुवन केसीले दोहोरो भूमिका निभाएका छन् । उनले निभाएको एउटा चरित्र नकारात्मक छ । पहिलो पटक भिलेनको भूमिकामा प्रस्तुत भएका कारण दर्शकलाई मनपर्ने उनको विश्वास थियो । तर, उनको चरित्र र अभिनय शक्तिशाली नहुँदा फिल्ममा खासै ठूलो प्रभाव पार्न सकेको छैन । भुवनले यो फिल्म चरित्र हेरेर नभइ पैसाको मुख हेरेर गरेको अहिले टिका-टिप्पणी भैरहेको छ ।
लामो समयपछि अभिनयमा फर्किएका कारण उनीबाट दर्शकले ठूलो अपेक्षा राखेका थिए । तर, उनको कमब्याक ‘हात्ती आयो, हात्ती आयो फुस्स’ झैँ भएको छ । यद्यपि, उनलाई यो फिल्म फ्लप भएकोमा कुनै सुर्ता छैन । रिलिजपूर्व उनले प्रचार-प्रसारमा गरेको बेवास्थाले नै यो देखाउँछ । तर, एक समयका सुपरहिट फिल्मका हिरोलाई अब ‘फ्लप हिरो’ को ट्याग लागेको छ । क्या तनाब !



