स्वास्थ्य

भारतमा खुल्यो अक्सिजन बार, स्वच्छ अक्सिजनको २ सय ९९

नयाँ दिल्ली– भारतमा अहिले वायु प्रदुषण निकै बढेको छ। यहाँका अधिकांश क्षेत्रमा हावाको गुणस्तर नराम्रो भनेर बताइएको छ। साथै नागरिकलाई बिना काम घरबाट ननिस्किन आग्रह समेत गरिएको छ। वायु प्रदुषणका कारण जनजीवन समेत प्रभावित बनेको छ।

सफा र स्वच्छ हावा लिन नपाइरहेका बेला भारतमा अब अक्सिजन बार खुलेको छ जहाँ मानिसहरुले स्वच्छ अक्सिजन लिन पाउने छन्।

दिल्लीको हावाको गुणस्तर निकै बिग्रेको छ। पञ्जाब र हरियानाको त झनै जोखिममा रहेको छ। दिल्लीका मुख्य मन्त्री अरविन्द केजरवालले यस सहरलाई ग्यास च्याम्बरको सज्ञा दिएका छन्।

सहरमा बढ्दो वायु प्रदुषणबाट बच्न दिल्लीमा यस्तो नयाँ अवधारणा ल्याइएको छ, जहाँ अक्सिजन बेचिन्छ। यो अवधारणा दुःखद् अवस्थाको समस्या समाधान भन्दा पनि बाध्यकारी अवस्थाको विकल्प हो।

‘अक्सि पिवोर’ भन्ने बार यही वर्षको मे महिनामा खोलिएको हो। आर्याभीर कुमार नामक व्यक्तिले दिल्लीमा यो बार खोलेका हु्न्।

यो बारले सेवाग्राहीलाई १५ मिनेटसम्म स्वच्छ अक्सिजनको सेवा दिन्छ। यहाँ ७ प्रकारका सुगन्ध भएको अक्सिजन अर्डर गर्न सकिन्छ। जसमा पुदिना, मेन्था, दालचिनी, सुन्तला, लेमनग्रास, मसाला रुखको सुगन्ध, ल्याभेन्डर आदिका सुगन्धहरू रहेका छन्।

त्यहाँ कार्यरत एक स्टाफ बोनी इरेन्गाम भन्छन्, ‘हामीले विभिन्न सुगन्ध सहितको अक्सिजन १५ मिनेट दिने गरेका छौं।’

उनीहरूले वायुमण्डलीय चाप नियन्त्रण गरेर सो सेवा दिने गरेका छन्। ग्राहकलाई एउटा ट्युब दिइन्छ, जहाँ उनीहरूले सुगन्ध भएको अक्सिजन लिन पाउँछन्। सो सेवा सेवाग्राहीले निश्चित तोकिएको समयमा दिनमा एक चोटी मात्र लिन पाउँछन्।

यसले शरीरलाई नयाँ ताजगी दिन्छ र अक्सिजनको सञ्चार बढाउँछ जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन मद्धत गर्छ। साथै यसले डिप्रेसनसँग लड्न सहयोग गर्छ भने रगतको नकरात्मक विकार निकाल्न सहयोग गर्छ।

यो काम भारतमा नयाँ भए पनि थुप्रै देशमा यस्ता अक्सिजन बार खुलेका पाइन्छन्। यी अक्सिजन बारले हानिकारक किटाणु तथा संक्रामक व्याक्टेरियाबाट बचाउने प्रयास गर्छन्।

रु २ सय ९९ मा स्वच्छ अक्सिजन सेवा दिँदै आएको यस ओक्सि पिवोर बारमा सुगन्धका अनुसार पैसा फरक पर्छ। यो नयाँ दिल्ली साकेटस्थित सिटी वाक मलमा रहेको छ। यसको छिट्टै नै डिसेम्बरमा डिल्ली एयरपोर्टनजिक शाखा सञ्चालनमा आउने भएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button