कृषि र किसान

अण्डाको मूल्य बढ्यो 

ललितपुर। उत्पादन लागतको आधारमा किसानले प्रतिफल नपाएको भन्दै अण्डा उत्पादकले कुखुराको अण्डाको मूल्य बढाएका छन्। नेपाल अण्डा उत्पादक संघका अनुसार प्रतिकार्टुन सरदर एक सय २५ देखि एक सय ७० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ।

संघका अनुसार काठमाडौंमा ठूलो अण्डाको मूल्य प्रतिकार्टुन दुई हजार ५० र मध्यमको १८ सय ७० रुपैयाँ तोकिएको छ। यसअघि काठमाडौंमा ठूलो अण्डा १८ सय देखि १९ रुपैयाँ र सानो १६ सय देखि १७ सय रुपैयाँ कार्टुनमा बिक्री भएको संघका अध्यक्ष शिवराम केसीले बताए। ‘विगतमा मूल्य तोके पनि कार्यान्वयनमा आएको थिएन,’ केसीले भने, ‘अहिले कडाइ गरेका छौं।’ खुद्रा प्रतिगोटा १३ रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

चितवनमा भने काठमाडौंमा भन्दा कम छ। त्यहाँ पनि अण्डाको मूल्य बढेको छ। प्रतिकार्टुन ठूलो अण्डाको मूल्य १९ सय २५ रुपैयाँ र मध्यमको १७ सय ८५ रुपैयाँ तोकिएको छ। यसअघि ठूलो अण्डा प्रतिकार्टुन १७ सयदेखि १८ सय र सानो १६ सय रुपैयाँ कार्टुनमा बिक्री भएको केसीले बताए। ‘उत्पादनको आधारमा प्रतिफल नपाएपछि मूल्य बढाएका हौं,’ केसीले भने, ‘उपभोक्तालाई ठूलो भार पर्दैन।’

संघका अनुसार प्रतिअण्डा उत्पादन लागत साढे १० रुपैयाँ पुगेको छ। यसअघि आठ रुपैयाँमा अण्डा बेच्नु पर्दा किसानले घाटा बेहोर्नु परेको थियो। मुलुकमा दैनिक ३३ लाख गोटा अण्डा उत्पादन हुने केसीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button