कृषि र किसान

मह उत्पादनमा कमी, कृषक निराश

बर्दीबास। यो वर्ष महोत्तरीको जङ्गलबाट मह उत्पादनमा कमी आएको छ । माहुरी कृषकका अनुसार मौसमी प्रतिकूलता, सिकारी चराको प्रकोप र रोगव्याधीले गर्दा मह उत्पादन अनपेक्षित रूपले घटेको हो ।

चौतर्फी व्यवधान आइलागेपछि मौरी कृषक समयअगावै घर फर्किएका छन् । चितवनको खैरेनीबाट मेलिफेरा जातका मौरीका घार लिएर आगन्तुक मह कृषक हरेक वर्ष फागुन महिनातिर महोत्तरीको जङ्गल क्षेत्रमा आउने गर्छन् । फागुन महिनादेखि मधेशका गाउँघरमा लिची र सोहिजनका बोट पनि फुल्ने भएकाले मह कृषकको आकर्षण बढेको हो । मह कृषकहरू २०६४ देखि मौरी चराउन महोत्तरी आउने गरेका छन् ।

यस पटक चितवनबाट एक हजार आठ सय मौरीको गोला लिएर २० जना कृषक परिवार महोत्तरीको जङ्गलमा झरेको खैरिनीका कृषक सुरेश बस्नेतले बताउनुभयो । उहाँका अनुसार विगतको उत्पादनका आधारमा यो वर्ष महोत्तरीको जङ्गलबाट एक हजार आठ सय गोलाबाट दुई करोड १६ लाख मूल्य बराबरका करिब ४३ हजार दुई सय किलो मह उत्पादन हुने लक्ष्य थियो । लक्ष्यको तुलनामा उत्पादन भने १८ हजार किलोमा सीमित भएको उहाँले बताउनुभयो । “थोक मूल्य प्रतिकिलो पाँच सय रुपियाँको दरले यो उत्पादन ९० लाख रुपियाँ बराबरको मात्र हो,” बस्नेतले भन्नुभयो, “उत्पादन घट्दा हामीले एक करोड २६ लाख रुपियाँ बराबरको घाटा बेहोर्नु प¥यो ।” गत वर्ष आफूू एक्लैको ११७ घार मौरीबाट १५ क्विन्टल बराबर ५० बाल्टिन मह सङ्कलन भएको बस्नेतले विगत सम्झनुभयो । यस पटक १९२ घार मौरी ल्याउँदा पनि यही जङ्गलबाट उत्पादन भने २५ बाल्टिन अर्थात् साढे सात क्विन्टल मात्र भएको बताउनुभयो ।

कृषकका अनुसार सुरुमा वन डढेलोले फूलका रस (नेक्टर) सुकाउँदा मह उत्पादन प्रभावित भयो । त्यसपछि लगातार दुई तीन पटक पानी परेकाले मौरीले मनलाग्दी चर्न पाएनन् र उत्पादन घट्यो ।

“अघिल्ला वर्षको यही सिजनमा ३/४ पटकसम्म मह निकालेका थियौँ,” अर्का मह कृषक अशोक बस्नेतले बताउनुभयो । समयअगावै मह किसान फर्केपछि सागरनाथ वन विकास परियोजनाको भिक्स (युक्लिप्टस) का जङ्गल र बर्दीबास तथा गौशाला नगरपालिका अन्तर्गतका सोहिजन र लिचीका बगैँचा सुनसान भएका छन् । अघिल्ला वर्ष महोत्तरीका जङ्गलमा जेठ दोस्रो सातासम्म मह सङ्कलन हुने गरे पनि चौतर्फी समस्याले निराश बनेका मौरी कृषक सोमबारदेखि चितवन फर्कन लागेका छन् ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button