
फिल्मीखबर, काठमाण्डौ,
यही मंसिर १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सरौतो’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यो जुनी’ बोलको गीतमा श्रेया सोताङ र कमल खत्रीको स्वर छ । भने, गायक कमल स्वयंको शब्द तथा संगीत छ । हरि हुमागाईंको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता सन्नी सिंहसँग अभिनेत्री सुमी मोक्तान बोल्ड अवतारमा देखिएकी छन् ।
सुमी र सन्नीको प्रेम भाव बोल्ने गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग निर्देशक हरि हुमागाईंले बताए । थुपै नेपाली फिल्म खिचिसकेका हुमागाईंले पहिलो पटक यो फिल्म निर्देशन गरेका हुन् । फिल्ममा अभिनेत्री सुमीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । फिल्ममा उनले फरक क्षमता भएकी युवतीको भूमिका निभाएकी छन् । उत्तम हुमागाईंले फिल्म खिचेका हुन् ।
बदलाको कथामा निर्मित फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको अभिनय छ । फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको निर्देशक हुमागाईं बताउँछन् । फिल्मको यसअघि नै एक्सनले भरिएको ट्रेलर सार्वजनिक भैसकेको छ ।
बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्मित फिल्ममा राघव कृष्ण गौतमको लेखन छ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व र राजनराज सिवाकोटी/पुष्पन प्रधान/कमल खत्रीको संगीत छ । ‘सरौतो’ आफ्नो ड्रिम प्रोजेक्ट बताउने अभिनेत्री सुमी फिल्मका लागि एक्सन सिक्न निकै मेहनत गरेको बताउँछिन् ।



